नेपालले बन्द गर्यो ८ देशका नागरिकलाई अन-अराइभल भिसा

काठमाडौं। नेपालले पहिलोपटक कोरोना भाइरस देखिएको चीनसहित आठ देशका नागरिकलाई अन-अराइभल भिसा तत्कालका लागि बन्द गर्ने भएको छ।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले आज एक सूचना जारी गर्दै चीन, इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई दिँइदै आएको अन-अराइभल भिसा अर्को सूचना जारी गरेर जानकारी नदिउन्जेलका लागि बन्द गरिने जनाएका हुन्।

विश्व स्वास्थ्य संगठनले तयर गरेका मापदण्ड र सुझावलाई ग्रहण गर्दै तत्कालका लागि कोरोना भाइरसको संक्रमण (कोभिड-१९) धेरै फैलिएका यी आठ देशका नागरिकलाई अन-अराइभल भिसा बन्द गरिएको सूचनामा उल्लेख गरिएको छ। यो व्यवस्था भोलि २७ फागुनदेखि लागू हुनेछ।

नेपाल आउन चाहने यी देशका नागरिकले सम्बन्धित देशमा रहेका नेपाली दूतावास वा नियोगहरूबाट भिसा लिएर आउन भने सक्नेछन्। तर, त्यसरी भिसाका लागि निवेदन दिँदा आफू स्वस्थ रहेको प्रमाणपत्रसमेत पेश गर्नुपर्नेछ।

उक्त प्रमाणपत्र विमानस्थलमा अध्यागमनका कर्मचारीले पनि जाँच गर्नेछन्। स्वस्थ रहेको प्रमाणपत्र भिसाका लागि निवेदन दिनुभन्दा कम्तीमा एक साता पहिले जारी गरिएको हुनुपर्नेछ।

यसअघि २३ फागुनबाट लागू हुने गरी चीन, दक्षिण कोरिया, जापान, इरान र इटालीका नागरिकलाई नेपालले अनअराइभल भिसा बन्द गरेको थियो। अहिले यो सूचीलाई फ्रान्स, जर्मनी र स्पेनसम्म विस्तार गरिएको हो।

नेपालले अफगानिस्तान, क्याम्रुन, एस्वाटिनी, इथियोपिया, घाना, इराक, लाइबेरिया, नाइजेरिया, सोमालिया, प्यालेस्टाइन, सिरिया र जिम्बाबेका बाहेक अन्य देशका लागि अन-अराइभल भिसा दिँदै आएको थियो।

प्रतिक्रिया दिनुहोस्