एभर्टनमाथि चेल्सीको शानदार जित, १८ वर्षे गिलमौरको प्रशंसा

काठमाडौं। फ्रांक लामपार्डले आफ्नो पूर्व चेल्सी प्रशिक्षक कार्लो एन्सेलोट्टीविरुद्ध फराकिलो विजय हासिल गरेका छन्। चेल्सीसँग ४–० ले पारजित भएपछि एभर्टन प्रशिक्षक एन्सेलोट्टीको स्टामफोर्ड ब्रिज पुनरागमन सुखद हुन सकेन।

बिली गिलमौरले रोज बार्कली र मासोन माउन्टसँगै प्रिमियर लिगमा पहिलो पटक शुरूआती ११ मा स्थान बनाए। माउन्टले १४औं मिनेटमा चेल्सीलाई अग्रता दिए। माउन्टले पेड्रो रोड्रिग्वेजको पासमा गोल गरे। पेड्रो आफैले २१ औं मिनेटमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए।

पेड्रोले रोस बार्कलीको पासमा गोल गरे। बार्कलीकै पासमा विलियानले ५१औं मिनेटमा तेस्रो गोल थपे। विलियानको पासमा ओलिभर जिरौडले ५४औं मिनेटमा अर्को गोल थपे। पेड्रो २०१९ फेब्रुअरीपछि पहिलो पटक लिग खेलमा फर्किएका हुन्।

सहज जितसँगै चेल्सीले चौथो स्थानमा आफ्नो पकड बलियो बनाएको छ। एभर्टनले चेल्सीविरुद्ध घरेलु मैदानमा ३–१ को नतिजा निकालेको थियो। तर स्टामफोर्ड ब्रिजमा त्यही नतिजा दोहर्याउन सकेन।

१८ वर्षे गिलमौरले उत्कृष्ट प्रदर्शन गरेपछि स्कटल्यान्डको राष्ट्रिय टीममा स्थान बनाउने सम्भावना बढाएका छन्। उनले आफ्नो पहिलो प्रियिमर लिग खेलमै प्रभाव जमाउन सफल भएका थिए। गिलमौरले डेब्यू गरेको खेलमा चेल्सीले एफए कपमा लिभरपुलमाथि २–० को विजय हासिल गरेको थियो। र आज एभर्टनविरुद्ध पहिलो रोजाइमा खेल्दा चेल्सीले ४–० को नतिजा निकाल्न सफल भयो।

उनको ९२.५ पास सफल भएका छन् र तलसम्म झरेर खेलेका छन्। जर्जिन्हो निलम्बनमा हुँदा प्रशिक्षक लामपार्डले उनीमाथि गरेको विश्वासलाई गिलमौरले न्याय गरेका छन्। लगातार दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि गिजमौरले युरो २०२० प्लेअफअन्तर्गत इजरायलविरुद्धको खेलमा स्कटल्यान्डको टीममा पर्ने सम्भावना बलियो बनाएका छन्।

‘‘टीममा बोलायो भने आश्चर्यजनक हुनेछ,’’ गिलमौरले भने, ‘‘तर, मैले यहाँ कडा मिहिनेत गरेर सक्दो राम्रो प्रदर्शन गरे भने आशा छ त्यो अवसर पनि चाँडै प्राप्त गर्नेछु।’’

फरवार्ड जिरौडले पनि गिलमौरको तारिफ गरे। उनले भने, ‘‘उनले फेरी राम्रो खेले। युवा खेलाडीले परिपक्क प्रदर्शन गरेका छन्। उनी अरूको सुझाव ग्रहण गर्छन्। यस्तै भइरहे उनको भविष्य सुन्दर छ।’’

प्रतिक्रिया दिनुहोस्