अशोक सिलवालको ‘श्रीलंका स्मृति’

काठमाडाैं। लाङटाङ सद्‍भावना दूत अशोक सिलवालको पछिल्लो कृति ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ।

फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरी डाँडास्थित तीन हजार ४६० मिटर उचाइमा रहेको ढ्वाछाप भेडीखर्कमा पुस्तक विमोचन गरेको हो।

श्रीलङ्का प्रेस एशोसिएसन (एसएलपीए)को ६३औं वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रममा श्रीलङ्कामा सहभागी सिलवालकाे एक साता लामो यात्रा विवरण सो पुस्तकमा समेटिएको छ।

फिकुरी डाँडाको उचाइ तीन हजार ८०० मिटर छ, जहाँबाट लाङटाङ लिरुङ, गणेश, मनास्लु र अन्नपूर्ण मात्र होइन, तिब्बती हिमशृङ्खलासमेत देख्न सकिन्छ ।

बाक्लो हिउँमा उभिएर साहसिक पर्यटनमा सक्रिय पदयात्रीमाझ नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य दीपक महतले कृति हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब भएको टिप्पणी गरे।

यात्रा आयोजक संस्था रसुवा–नुवाकोट पर्यटन समाजका कार्यवाहक अध्यक्ष शिव लामिछानेले सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्ने अपेक्षा गरे।

फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा गुरुङ पर्यटन व्यवसायी संघ अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवर्द्धन मञ्च नेपालका द्वितीय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान)का कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टोली नेता ऊर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायतलगायत ३० पदयात्री सहभागी थिए ।

किस्पाङका पत्रकार सिलवालले सागरबारे लेखिएको किताब हिमालमा आइपुग्दा खुशी लागेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्