मेसीको गोलमा बार्सिलोनाको जित, शीर्ष स्थानमा उक्लियो
काठमाडौं। लियोनल मेसीले अन्तिम समयमा गरेको पेनाल्टी गोलमा बार्सिलोनाले गएराति रियाल सोसिडाडलाई १-० ले पराजित गरेको छ।

जितसँगै बार्सिलोना स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

बार्सिलोनाले दोस्रो स्थानको रियाल मड्रिडलाई दुई अंकले पछि पार्दै शीर्ष स्थानमा उक्लिएको हो। तर, रियालले एक खेल कम खेलेको थियो।

जिनेदिन जिदानको रियालले आज रियाल बेटिसको भ्रमण गर्नेछ। रियाल बेटिसलाई हराए रियाल मड्रिड पुनः शीर्ष स्थानमा उक्लनेछ।

रियाल सोसिडाडका रोबिनले नोमान्डले पेनाल्टी क्षेत्रमा हातले बल क्लियर गरेपछि बार्सिलोनाले पेनाल्टी अवसर पाएको थियो।

रेफ्री जुवान मार्टिनेजले भिडियो सहायक रेफ्री (भिएआर) को सहयोगमा पेनाल्टीको निर्णय लिएका थिए।

जसलाई बार्सिलोनाका कप्तान मेसीले कुनै गल्ती नगरी गोल गरे। जारी लिगमा मेसीको यो १९औं गोल हो।

रियाल सोसिडाडका एलेक्जेन्डर इसाकले हानेको प्रहार थोरैले बाहिरिएको थियो। भ्रमणकारी टीमले गोलका लागि गरेको सबभन्दा राम्रो प्रयास त्यही थियो।

बार्सिलोनाका जोर्डीले अल्बाले इन्जुरी समयमा बैकल्पिक खेलाडी अंसुमन फातीको पासमा गोल गरेका थिए।

तर, भिडियो सहायक रेफ्रीलाई त्यसलाई अफसाइड घोषित गरिदियो।

बार्सिलोनाले जनवरीमा अनुबन्ध गरेका मार्टिन ब्रेथह्वाइटले पहिलो हाफमा केही राम्रा अवसर पाएर पनि सदुपयोग गर्न सकेनन्।

त्यसअघि एट्लेटिको मड्रिडले घरेलु मैदानमा सेभियासँग २-२ को बराबरी खेल्यो।

लुक डी जोङको गोलमा भ्रमणकारी सेभियाले १९औं मिनेटमा अग्रता लिएको थियो।

अल्भारो मोराटाले ३२औं मिनेटमा बराबरी गोल फर्काए। त्यसको चार मिनेट वित्न नपाउँदै जाओ फेलिक्सको गोलमा एट्लेटिकोले अग्रता लियो।

तर, पहिलो हाफ सकिन दुई मिनेट बाँकी छँदा सेभियाले पेनाल्टी अवसर पायो। जसलाई लुकास ओकाम्पोसले गोल गर्दै सेभियालाई एक अंक दिलाए।

बराबरीसँगै एट्लेटिकोले लिगको तेस्रो स्थानमा उक्लने मौका गुमायो।

एट्लेटिको ४५ अंकका साथ पाँचौं स्थानमा छ भने सेभिया ४७ अंकका साथ तेस्रो स्थानमा छ। ४६ अंकका साथ गेटाफे चौथो स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्