वर्षाका कारण नेपाल-सिंगापुरबीचको खेल रद्द

काठमाडौं। चिसो आउटफिल्डका कारण एसीसी ट्वान्टी-२० इस्टर्न रिजन प्रतियोगितामा आज नेपाल र सिंगापुरबीचको खेल टस नै नभइ रद्द भएको छ।

स्थानीय समय अनुसार बिहान ९:३० बजे खेल हुने भनिएको थियो।

तर, आउट फिल्ड राम्रोसँग नसुकेका कारण ११:४५ बजेसम्म पनि टस हुन नसकेपछि खेल रद्द भएको हो।

यही मैदानमा आज हङकङ र मलेसियाबीको खेल पनि स्थानीय समयअनुसार २:१५ बजे तय गरिएको छ।

यससँगै दाबेदार बनेर गएको नेपाल एक खेलमा विजय हासिल गर्दै घर फर्किने भएको छ।

नेपालले २१ फागुनमा थाइल्यान्डमाथि नौ विकेटको विजय हासिल गरे पनि सोही दिन सम्पन्न दोस्रो खेलमा सिंगापुरले हङकङलाई १६ रनले पराजित गरिदिएपछि नेपालको अघिल्लो चरणको सम्भावना समाप्त भएको थियो।

सिंगापुरले भने शीर्ष स्थानमा रहेर मलेसियामा हुने एसिया कप छनोट प्रतियोगितामा स्थान पक्का गरिसकेको छ।

यस प्रतियोगिताबाट शीर्ष दुई टीमले एसिया कप छनोटमा स्थान बनाउँछन्।

सिंगापुरसँगै हङकङ र मलेसियाबीचको विजेताले एसिया कपको छनोट प्रतियोगिता खेल्नेछन्।

नेपाल पहिलो खेलमा मलेसियासँग २२ तथा दोस्रो खेलमा हङकङसँग ४३ रनले रनले पराजित भएको थियो।

लगातारको खराब प्रदर्शनका कारण नेपाली टीमको चर्को आलोचना भएको छ।

यसअघि पनि आइसीसी ट्वान्टी-२० विश्वकप एसिया रिजनल छनोटमा पनि नेपाल कतार र सिंगापुरसँग पराजित हुँदै प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो।

प्रतिक्रिया दिनुहोस्