कोरोना संक्रमणको जोखिमले एभरेष्ट प्रिमियर लिग स्थगित (भिडिओसहित)

काठमाडौं। आउँदो १ चैतबाट हुने भनिएको एभरेष्ट प्रिमियर लिग (ईपीएल) स्थगित भएको छ।

ईपीएल आयोजकले पत्रकार सम्मेलन गरेर अर्को सूचना जारी नभएसम्मका लागि प्रतियोगिता स्थगित गरिएको जानकारी दिएका हुन्।

पत्रकार सम्मेलनमा ईपीएलका संस्थापक तथा प्रबन्ध निर्देशिक आमिर अख्तरले गृह मन्त्रालय, फ्रेन्चाइज, नेपाल क्रिकेट संघ, प्रायोजक र अन्य सरोकारवालासँगको परामर्शपछि यो वर्षको ईपीएल हाललाई स्थगित गरिएको बताए।

“कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न धेरै भिडभाड हुने कार्यक्रम नगर्न नेपाल सरकारले गरेको अनुरोध बमोजिम अहिलेका लागि ईपीएल स्थगित गरिएको हो,” उनले भने, “अवस्था सामान्य भएपछि छिटै नै प्रतियोगिताका लागि नयाँ समय तालिका घोषणा गर्नेछौं।”

प्रबन्ध निर्देशक अख्तरले प्रतियोगिता स्थगित भएको घोषणा गर्नुपर्दा दुख लागे पनि सम्पूर्ण नेपाली र हाम्रा विदेशी खेलाडीको स्वास्थ्यलाई ध्यान दिँदै यस्तो निर्णयमा पुगेको बताए।

“यो वर्षको ईपीएल अहिलेसम्मकै ठूलो र उत्कृष्ट हुन गइरहेको थियो। यसमा कुनै शंका छैन,” उनले भने,“तर, अझै पनि त्यो सम्भव छ। नेपालले यसअघि कहिल्यै नदेखेको उत्कृष्ट प्रतियोगिता आयोजना गर्ने सुनिश्चितताका लागि हामीले अझै कडा मिहेनत गर्नेछौं। यो वर्ष नै प्रतियोगिता गरिनेछ। त्यसबारे थप विवरण छिटै नै घोषणा गर्नेछौं।”

प्रतिक्रिया दिनुहोस्