पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

जलेश्वर। बिपी राजमार्गअन्तर्गत महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका-३ स्थित कालापानीमा पिकअपको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुली जिल्लाको कमलामाई नगरपालिका-७ बस्ने ४६ वर्षीय दीप खत्री रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले बताए।

गएराति बा. ४४ प ६२२४ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको स. १ च १८०६ नम्बरको टाटा पिकअपले ठक्कर दिँदा खत्री गम्भीर घाइते भएका थिए।

बर्दिवासस्थित जनसेवा अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही दुर्घटनामा रामेछाप मन्थली नगरपालिका-५ का ३८ वर्षीय रुद्रराज कार्की घाइते भएका छन्।

उनको बर्दिवासमा उपचार भइरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्