लिभरपुलविरुद्ध चेल्सीको शानदार जीत
काठमाडौं। रोस बार्कलीले लिभरपुलविरुद्ध गोल गर्नु सपना भएको बताएका छन्। बार्कली र विलियानको गोलमा चेल्सीले गएराति एफए कपमा लिभरपुललाई २-० ले हराउँदै एफए कपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

स्टामफोर्ड ब्रिजमा चेल्सीसँग पराजित लिभरपुलको जारी सिजन यो लगातार दोस्रो हार हो।

लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले शनिबार प्रिमियर लिगमा वार्टफोर्डसँग आश्चर्यजनक रूपमा पराजित भएको टीममा सात खेलाडी थिए।

तथापी भर्जिल भान डाइक, साडियो माने, एन्डी रोबर्टसन र जोए गोमेजसम्मिलित लिभरपुललाई हराउनु चेल्सीका लागि कठिन ठानिएको थियो।

तर, १३औं मिनेटमा लिभरपुलका गोलकिपर एड्रिन चेल्सीलाई गोल उपहार दिए। चेल्सीका फरवार्ड विलियानले २० यार्डबाट हानेको प्रहारलाई एड्रिनले फुत्काए।

युरोपियन च्याम्पियन लिभरपुलले त्यसपछि गोलका केही राम्रा अवसर सिर्जना गरेको थियो।

तर, लिभरपुलको आक्रमणमा चेल्सीमा पुनरागमन गरेका गोलकिपर केपा एरिजाबालागाले तगारो बने।

६४औं मिनेटमा बार्कलीले अर्को गोल थपिदिएपछि चेल्सीको जित पक्का बनेको थियो।

एभर्टनका पुर्व मिडफिल्डर एकल प्रयासमा विपक्षी तीन रक्षकलाई कटाएर हानेको प्रहार लिभरपुलका गोलकिपर एड्रिनले ठम्याउन सकेनन्।

‘‘यो शानदार थियो। टीमका लागि ठूलो नतिजा,’’ बार्कलीले भने, ‘‘दुई खेलमा निराशजनक नतिजा आएकाले हामीलाई घरेलु मैदानमा उच्च प्रदर्शन गर्नु थियो। लिभरपुलविरुद्ध गोल गर्नु मेरा लागि पनि ठुलो कुरा थियो। एभर्टनको फ्यानको हिसाबले उनीहरूविरुद्ध गोल गर्नु सधै सपना हुन्छ।’’

मासन माउन्टको फ्रीकिक क्रसबार लागेर फर्कियो भने ओलिभर जिरौडले हानेको प्रहार एड्रिनले मुश्किलले बचाए।

चेल्सीका १८ वर्षे मिडफिल्डर बिली गिमोउरले पनि उत्कृष्ट प्रदर्शन गरे। उनले चेल्सीका लागि तीन खेलमात्र खेलेका छन्।

८१ मिनेट खेलेका गिमोउरले सबै पक्षमा परिपक्क प्रदर्शन गरे।

‘‘युवा खेलाडीले आज उत्कृष्ट प्रदर्शन गरे। उनी पहिलो दश मिनेट शान्त देखिएका थिए। तर त्यसपछि उनी मैदानमा छाए,’’ चेल्सीका प्रशिक्षक लामपार्डले भने, ‘‘उनी प्रशंसाका लायक छन्।’’

चेल्सी एफए कपको क्वार्टरफाइनलमा पुगेको यो पछिल्लो पाँच सिजनमा यो चौथो पटक हो।

पछिल्लो पटक चेल्सीले २०१८ को फाइनलमा युनाइटेडलाई १-० ले हराउँदै उपाधि जितेको थियो। चेल्सीले एफए कपमा लिभरपुलविरुद्ध ११ मध्ये सात खेलमा विजय हासिल गरेको छ।

लिभरपुल एफए कपको पछिल्लो पाँच सिजनमध्ये तीन सिजन पाँचौं चरणबाट बाहिरिएको थियो।

त्यस्तै लगातार अवे खेलमा पराजित भएको २०१४ नोभेम्बरपछि यो पहिलो पटक हो।

‘‘टोलीले गरेको प्रदर्शनको कतिपय पक्ष राम्रो छ। हामीलाई सुधार गर्नुपर्छ भन्ने थाहा छ। सिजनभर यो तीन साता राम्रो रहेन,’’ लिभरपुलका प्रशिक्षक क्लोपले भने, ‘‘हामी अहिले एट्लेटिकोविरुद्ध भन्दा पनि बर्नमाउथविरुद्धको खेलमा केन्द्रित छौं। बर्नमाउथले चेल्सीविरुद्ध धेरै राम्रो खेलेको थियो। हामीलाई कसैले क्षमा दिनेवाला छैन, हामीले जित्नुपर्छ। त्यसैले हामी आइतबार जित्न चाहन्छौं।’’

प्रतिक्रिया दिनुहोस्