आंशिक शिक्षकको आन्दोलनले भोजपुर क्याम्पसको पठनपाठन ठप्प

भोजपुर। करारमा नियुक्त गर्न माग राख्दै आंशिक शिक्षकहरूले आन्दोलन गरेपछि भोजपुर बहुमुखी क्याम्पसको पठनपाठन ठप्प भएको छ।

क्याम्पसमा करार दरबन्दी रिक्त हुँदासमेत आंशिक शिक्षकलाई करारमा लैजान बेवास्ता गरेको भन्दै शिक्षकले पठनपाठन ठप्प पारेका हुन् ।

यही ११ फागुनमा उनीहरूले क्याम्पस प्रशासनसमक्ष ध्यानाकर्षण पत्र बुझाएका थिए।

तर, माग पुरा नभएको भन्दै १६ फागुनदेखि ‘पेन डाउन’ गरेर पठनपाठन ठप्प पारेका हुन्।

शिक्षकको आन्दोलनका कारण शिक्षा लिनबाट वञ्चित भएकाले समस्याको समाधान गरेर नियमित पठनपाठनको वातावरण बनाइ दिन विद्यार्थीले माग गरेका छन् ।

विद्यार्थी प्रताप तामाङले भन्नुभयो, “शिक्षकको आन्दोलनका कारण पठनपाठन ठप्प भएको छ, फागुन ११ गतेदेखि पढाइ भएको छैन, हाम्रो क्याम्पस आउने जाने काम मात्र भइरहेको छ।”

आन्दोलनरत शिक्षकका प्रवक्ता पदम कार्कीले भने, “हामी अहिले दैनिक ज्यालादारीमा काम गरिरहेका छौँ, क्याम्पसमा करारका पदहरु रिक्त छन् तर पनि हामीलाई करारमा लैजान क्याम्पस प्रशासनले मानिरहेको छैन, यसबाट हाम्रो बौद्धिक शोषण भइरहेको छ।”

“आंशिक शिक्षक करारको माग राख्दै आन्दोलनमा हुनुहुन्छ, त्यस विषयमा क्याम्पस प्रमुखले केन्द्रीय कार्यालयमा जानकारी गराउनुभएको छ, उहाँ अहिले काठमाडौंमा हुनु भएकाले मैले यहाँ वार्ता गरेर पठनपाठनको वातावरण बनाउने तयारीमा छु”, क्याम्पसका निमित्त क्याम्पस प्रमुख नीलमणि भट्टराईले भने। रासस

प्रतिक्रिया दिनुहोस्