पहिलो उपाधि जित्न आतुर थ्री स्टार र सुदूरपश्चिम

धनगढी। पहिलो पटक आयोजित सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्ड कपको फाइनलमा स्थान बनाएको आयोजक सुदूरपश्चिम-११ आज हुने फाइनलमा थ्री स्टार क्लबलाई हराएर उपाधि घरमै राख्ने लक्ष्यमा छ। त्यस्तै लगातार दोस्रो पटक फाइनल यात्रा तय गरेको थ्री स्टार पनि घरेलु दर्शकलाई निराश पारेर पहिलो पटक उपाधि जित्ने दाउमा छ।

आयोजक सुदूरपश्चिम–११ हसनपुरस्थित धनगढी फुटबल रंगशालामा पहिलो फाइनल प्रवेशमै उपाधि जितेर इतिहास रच्न चाहन्छ। प्रतियोगिताको क्वार्टरफाइनलमा भारतको कञ्चनजंघा एफसीमाथी जित हात पारेको घरेलु टोलीले सेमिफाइनलमा विभागीय क्लब एपीएफको चुनौती समाप्त पारेको थियो।

दुवै खेलमा सुदुरपश्चिम-११ ले शुरूको २० मिनेटमै अग्रता लिएको थियो। त्यसमा नायक थिए, स्ट्राइकर विक्रमसिंह ठकुरी। सुदूरपश्चिम-११ का प्रशिक्षक रोहित भण्डारी फाइनलमा थ्री स्टारविरुद्ध पनि पछिल्ला दुई खेलमा जस्तै आक्रामक रणनीति अपनाउने बताउँछन्।

‘‘कञ्चनजंघा र एपीएफलाई हराउँदा हामी बल पोसेसनमा कमजोर थियौं। तर, हामी पाएका अवसरलाई सदुपयोग गर्न सफल भयौं,’’ प्रशिक्षक भण्डारीले भने, ‘‘फुटबलमा बल पोसेसन कति राख्यो भन्दा पनि कति गोल गर्‍यो भन्नेले अर्थ राख्छ। थ्री स्टार बलियो टोली हो। त्यसकारण हामीले निकै मिहिनेत गर्नु आवश्यक छ। हामी घरेलु समर्थकमाझ उपाधि जित्दै इतिहास रच्न चाहान्छौं। जुन समग्रमा सुदूरपश्चिम फुटबलका लागि गौरव बन्न सकोस्।’’

थ्री स्टार भने प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो लगातार दोस्रो पटक हो। थ्री स्टार गत वर्ष फाइनलमा नेपाल पुलिससँग पराजित भएर उपविजेतामा सीमित बनेको थियो। त्यसैले थ्री स्टार यो पटक उपाधि जित्दै गत वर्षको पिडामा मल्हम लगाउन चाहान्छ।

शहीद स्मारक ‘ए’ डिभिजन लिगको चौथो स्थानमा रहेको थ्री स्टारले जारी सिजन मोफसलको प्रतियोगितमा सहभागिता जनाएको यो दोस्रो हो। थ्री स्टार यसअघि सताक्षी गोल्डकपमा मछिन्द्र क्बलसँग पराजित हुँदै उपविजेतमा सीमत बनेको थियो।

धनगढीमा थ्री स्टारले क्वार्टरफाइनलमा नव जन जागृती युवा क्बल सिमरा र सेमिफाइनलमा हिमालयन शेर्पालाई हराउँदै फाइनलमा स्थान बनाएको हो। दुई खेलमा थ्री स्टारले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन। त्यसैले राष्ट्रिय टोलीका रक्षक कप्तान विक्रम लामा र अनन्त तामाङसम्मिलित थ्री स्टारको रक्षापंक्ति तोेड्नु सुदुरपश्मि-११ का लागि सहज हुनेछैन।

‘‘हामी युवा टोलीका साथ यहाँ आएका छौ,’’ थ्री स्टारका प्रशिक्षक मेघराज केसीले भने, ‘‘हामी उत्कृष्ट भन्दा उत्कृष्ट फुटबल खेल्दै उपाधि जित्न चाहन्छौं। जारी सिजन मोफसलमा हाम्रो यो दोस्रो प्रतियोगिता हो। पहिलोमा पनि हामी फाइनलमा चुक्यौं। त्यसैले हामी यो उपाधि जित्न चाहन्छौं।’’

प्रतिक्रिया दिनुहोस्