चलेन ब्याटिङ, लगातार दोस्रो हारपछि नेपालको सम्भावना कमजोर

काठमाडौं। कमजोर ब्याटिङले निरन्तरता पाउँदा नेपाल एसीसी ट्वान्टी-२० इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा पराजित भएको छ।

एसिया कपको छनोट प्रतियोगताका रूपमा रहेको प्रतियोगितामा नेपालले हङकङलाई ४३ रनको नतिजा सुम्पिएको हो।

थाइल्याण्डको टेर्डथाई क्रिकेट मैदानमा हङकङले ६ विकेट गुमाएर १५४ रन बनाएको थियो।

१५५ रनको लक्ष्य पछ्याएको नेपालले १८.१ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र जोड्न सक्यो।

नेपाल पहिलो खेलमा पनि मलेसियासँग २२ रनले परािजत भएको थियो।

मलेसियाविरुद्ध पनि १५५ रनको लक्ष्य पाएको नेपालले १३२ रन बनाउन सक्यो।

१५५ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले राम्रो शुरूआत दिएका थिए।

तर, हारून मोहम्मदले कुशललाई निजकत खानमार्फत क्याच गरेपछि नेपालले निरन्तर विकेट गुमायो।

कुशल र ज्ञानेन्द्रले पहिलो विकेटका लागि ४.४ ओभरमा ४२ रनको साझेदारी गरेका थिए।

कुशलले १९ तथा ज्ञानेन्द्र मल्लले ४६ रन जोड्नुबाहेक नेपालका अन्य कुनै पनि ब्याट्सम्यानले खुलेर प्रदर्शन गर्न सकेनन्।

पारस खड्का चार, दीपेन्द्रसिंह ऐरी पाँच, पवन सर्राफ एक, विनोद भण्डारी पाँच, आरिफ शेख १०, करण केसी सात, सन्दीप लामिछाने शुन्य र अभिनाष बोहराले १२ रनमा आउट भए।

हङकङका हारून मोहम्मदले पाँच, अफताब हुसैनले तीन तथा इसान खानले दुई विकेट लिए।

लगातार दोस्रो हारसँगै नेपालको सम्भावना कमजोर बनेको छ। नेपालले अब थाइल्यान्ड र सिंगापुरविरुद्ध मात्र खेल्न बाँकी छ।

इस्टर्न रिजनबाट शीर्ष दुई टीमले मलेसियामा हुने फाइनल छनोट प्रतियोगितामा स्थान बनाउँनेछ।

फाइनल छनोटबाट विजेता टीमले पाकिस्तानमा हुने एसिया कपमा स्थान बनाउँनेछ।

नेपाललाई प्रतियोगितामा सबभन्दा बलियो दाबेदारका रुपमा लिइएको थियो। तर, कमजोर ब्याटिङ उदांगो भएपछि नेपालको अघिल्लो चरण पुग्ने सम्भावना कमजोर बनेको छ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर हङकङलाई ब्याटिङको निम्तो दिएका थिए। तर ज्ञानेन्द्र निर्णय सही सावित हुन सकेन।

हङकङका साहिद वासिफ र निजाकत खान मोहम्मदले पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरे।

वाँया हाते स्पिनर सुशन भारीले वासिफलाई आरिफ शेखमार्फत क्याच गर्दै दुईको साझेदारी तोडेका थिए।

निजाकतले खानले हारून माहेम्मद अर्शदसँग दोस्रो विकेटका लागि २१ रनको साझेदारी गरे। हङकङको दोस्रो साझेदारीलाई पनि सुशन भारीले तोडे।

निजाकत खानलाई सुशनले कुशल मल्ल मार्फत क्याच गरे। लगत्तै किनचित शाहलाई सन्दीप लामिछानेले दीपेन्द्रसिंह ऐरीमार्फत क्याच गरे।

त्यसपछि हारून मोहम्म्द र मोहम्मद अजिज खानले चौथो विकेटका लागि २५ रनको साझेदारी गरे। कुशलले हारून मोहम्मदलाई अभिनाष बोहरामार्फत क्याच गरे।

साहिद वासिफले २६ रन बनाउँदा निजकत खानले ४८ रन जोडे। हारून मोहम्मदले २७ रन बनाए भने मोहम्मद अजिजले २९ रन बनाए। जेम्स जोन एटकिन्सनले १३ रन बनाए।

नेपालका सन्दीप लामिछाने र सुशन भारीले समान दुई विकेट लिए भने कुशल मल्लको नामा एक विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस्