कोरोना भाइरसले इटालियन सिरी ‘ए’ का पाँच खेल स्थगित

काठमाडौं। साविक विजेता युभेन्टस‍्ले यो साता तेस्रो स्थानको इन्टर मिलानलाई आतिथ्यता प्रदान गर्ने थियो। तर, कोरोना भाइरस संक्रमणका कारण युभेन्टसविरुद्ध इन्टर मिलानसहित इटालियन सिरी ‘ए’ मा पाँच खेल स्थगित गरिएको छ।

इटालीमा कोरोना भाइरस संक्रमणका कारण युडिनेस, एसी मिलान, पार्मा र सासोउलोमा हुने खेल पनि स्थगित हुने भएको छ। यो खेलहरू शुरूमा बन्द (दर्शकबिनाको) रंगशालामा खेल्ने भनिएको थियो। तर, सिरी ‘ए’ ले आज बिहान ती खेल स्थगित गर्ने निर्णय गरेको हो।

ती सबै खेल १३ मे का लागि तय गरिएको छ। जसका कारण १३ मे मा हुने भनिएको कोपा इटालियाको फाइनल २० मे मा हुने भएको छ। त्यसको चार दिनपछि इटालीमा घरेलु सिजनको अन्त्य हुनेछ।

गत साता पनि मिलान, बेर्गामो, भेरोना र टुरिनमा हुने भनिएको इटालियन सिरी ‘ए’ खेल स्थगित भएको थियो। बिहीबार युरोपा लिगमा इन्टर मिलानले लुडोगोरेट्सलाई पराजित गरेको खेल बन्द रंगशालामा खेलिएको थियो।

इटालीमा ३०० भन्दा बढीमा कोराना भाइरस संक्रमण देखिएको छ। त्यसमध्ये १२ जनाको मृत्यु भइसकेको छ।

इटालियन सिरी ‘ए’ मा स्थगित भएका खेलहरूः

युभेन्टसविरुद्ध इन्टर मिलान, युडिनेसविरुद्ध फियोरेन्टिना, एसी मिलानविरुद्ध जिनोवा, पर्माविरुद्ध स्पाल तथा सासोउलोविरुद्ध ब्रेसिया

दर्शकसहित खेलिने खेल

लाजियोविरुद्ध बोलोग्ना, नापोलीविरुद्ध टोरिनो, लिसेविरुद्ध एटलान्टा, कागलिएरीविरुद्ध एस रोमा

प्रतिक्रिया दिनुहोस्