नेपालकाे संक्रमणकालीन न्याय गम्भीर मोडमाः ओएचसीएचआर प्रमुख

काठमाडौं। मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघ उच्च आयुक्तको कार्यालय (ओएचसीएचआर) की प्रमुख मिशेल ब्याचलेटले नेपालको संक्रमणकालीन न्यायिक प्रक्रिया गम्भीर मोडमा पुगेको बताएकी छन्।

उनले सरकारी अधिकारीहरूलाई यो प्रक्रियामा विश्वासको वातावरण बनाउन पनि आग्रह गरेकी छन्।

संयुक्त राष्ट्रसंघको मानवअधिकारसम्बन्धी ४३औं सत्रलाई सम्बोधन गर्दै ब्याचलेटले नेपाल सरकारलाई द्वन्द्वपीडितका विभिन्न समूह तथा नागरिक समाजलगायत संक्रमणकालीन न्यायका सरोकारवालाहरूसँग गम्भीरतापूर्वक परामर्श गर्न आग्रह गरेकी हुन्।

दुई कार्यकाल (सन् २००६ देखि २०१० र २०१४ देखि २०१८) सम्म चिलेकी राष्ट्रपति निर्वाचित भएकी ब्याचलेट सन् २०१८ को अगस्त महिनामा मानवअधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको उच्च आयुक्तमा मनोनित भएकी थिइन्। उनी ओएचसीएचआरकी सातौं उच्च आयुक्त हुन्।

२०६३ सालमा भएको वृहत शान्ति सम्झौतापछि शुरू भएको नेपालको शान्ति प्रक्रियाका अन्य काम सम्पन्न भए पनि संक्रमणकालीन न्यायिक प्रक्रिया पूरा भएको छैन।

२०७१ मा गठन भएका सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले चार वर्षको समयमा पनि कुनै ठोस काम गर्न नसकेपछि केही समयअघि नयाँ पदाधिकारी नियुक्ति गरिएको छ।

तर, यो प्रक्रियामा आफूहरूका चासो सम्बोधन नगरिएको भन्दै द्वन्द्वपीडितले असन्तुष्टी जनाउँदै आएका छन्। साथै उनीहरूले सर्वोच्च अदालतको आदेश बमोजिम कानून संशोधन गर्न पनि माग गर्दै आएका छन्।

यसअघि संयुक्त राष्ट्रसंघको यही सत्रमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल संक्रमणकालीन न्यायिक प्रक्रिया टुंग्याउन गम्भीरतापूर्वक लागिरहेको बताएका थिए।

उनले भनेका थिए, “हामी संक्रमणकालीन न्यायिक प्रक्रियाका बाँकी रहेका विषयलाई टुंगोमा पुर्‍याउन प्रतिवद्ध छौं। वृहत शान्ति सम्झौता, सर्वोच्च अदालतको आदेश, अन्तर्राष्ट्रिय प्रतिबद्धता, द्वन्द्वपीडितका सरोकार र घरेलु अवस्थासमेतका आधारमा बाँकी काम टुंग्याइनेछ।”

त्यसक्रममा उनले नेपालले आफ्नै नेतृत्व र अपनत्वसहित द्वन्द्व रूपान्तरण र शान्ति प्रक्रिया सफल बनाएको बताएका थिए। द्वन्द्वकालका मानवअधिकार उल्लंघनका घटनालाई दुई वटा आयोगमार्फत् टुंगोमा पुर्‍याउन लागिपरेको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्