खप्तड गाेल्डकपकाे सेमिफाइनल समीकरण पूरा
कैलाली। धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनल समीकरण पूरा भएको छ।
प्रतियोगितामा हिमालयन शेर्पा, सुदूरपश्चिम-११, एपीएफ क्लब र थ्री स्टार क्लब अन्तिम चारमा पुगेका छन्।
निर्धारित समयमा दुवै टीमले गोलरहित बराबरी खेलेपछि खेल टाइब्रेकरमा पुगेकाे थियाे।
टाइब्रेकरमा हिमालयन शेर्पाका गोलरक्षक टेकेन्द्र थापा नायक बने। उनले गोर्खा ब्वाइजका सुजित बुढाथोकीको प्रहार बचाए।
गोर्खा ब्वाइजका हरि कठायत, अनिष तामाङ, रुपबहादुर लामा र उत्तम गुरुङले गोल गरे। शेर्पाका उर्लिच सिवाई, आशिष गुरुङ, दिवस उराउ, भिसन गुरुङ र विकास राईले गोल गरे।
भाेलि, १७ फागुनमा प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक सुदूरपश्चिम-११, स्पोर्टस् क्लब र विभागीय टीम नेपाल एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन्।
त्यस्तै १८ फागुनमा दोस्रो सेमिफाइनलमा थ्रीस्टार क्लब र हिमालयन शेर्पा क्लब प्रतिस्पर्धा गर्नेछन्।
प्रतियाेगिता २० फागुनसम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस्