पतिबाटै हिंसामा पर्छन् अधिकांश महिला

ललितपुर। महिला पुनःस्थापना केन्द्र (ओरेक)ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार मुलुकमा माघ महीनाभर ५६ वटा हि‌ंसाको घटना श्रीमान्‌बाट घटेका देखिन्छन्।

एक महीनामा गरिएको अनुसन्धानअनुसार नेपालमा ४३ प्रतिशत महिला श्रीमान‌‍‍बाट प्रभावित भएको ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताए।

“२५ हिंसाको घटना छिमेकीबाट, २१ परिवारका सदस्य, १५ अपरिचित मानिस, ६ प्रेमी, चार साथी, दुई शिक्षक र एक अविवाहिताबाट भएका छन्”, उनले भने।

माघमा ओरेकले कूल १३० लैङ्गिक विभेदमा आधारित हिंसाका तथ्याङ्क सङ्कलन गरेको थियो। यसमा ८१ वटा घटना स्वयं कार्यालयमा दर्ता भएका र ४९ वटा घटना विभिन्न राष्ट्रिय पत्रपत्रिकाबाट प्राप्त तथ्याङ्कमा आधारित रहेका न्यौपानेले बताए।

यसैगरी माघमा ५५ जना महिला घरेलु हिंसामा परेका छन्। १८ बलात्कार, १६ यौन दुर्व्यवहार, १५ सामाजिक हिंसाको शिकार, १४ हत्या, तीन हत्याको प्रयास र दुई जनामा बलात्कारको प्रयास तथा मानव बेचबिखन भएको देखिन्छ।

उमेर समूहमा वर्गीकरण गरेर हेर्दा १७ देखि २५ वर्ष उमेर समूहका ४५, २६ देखि ३५ वर्षका ३०, १६ वर्षमुनिका २०, ३६ देखि ४५ वर्षका १६ र ४६ वर्षभन्दा माथिका महिला १० जना हिंसामा परेका छन्।

उमेरका आधारमा आरोपितको वर्गीकरण गरेर हेर्दा उमेर समूह थाहा नभएका ३७ जना, २६ देखि ३५ वर्षका ३४ जना, १७ देखि २५ उमेर समूहका २४ जना, ३६ देखि ४५ वर्षका २१ जना, ४६ देखि ५५ वर्षका ११ जना पुरुष र ५६ वर्षभन्दा माथिका तीन जना रहेको ओरेकले जनाएको छ। रासस

प्रतिक्रिया दिनुहोस्