एसिड छ्याप्नेलाई ८ वर्ष जेल, पीडितलाई एक करोड १४ लाख उपचार खर्च भराउन अदालतको आदेश

काठमाडौं। साढे ६ वर्ष पहिलेको एसिड आक्रमणको एक घटनामा सुनुवाई गर्दै मकुवानपुर जिल्ला अदालतले आक्रमणकारीलाई ८ वर्ष जेल सजाय सुनाएको छ।

जिल्ला न्यायाधीश कमलराज विष्टको इजलासले आज ९ वैशाख २०७० मा हेटौंडामा युवतीलाई एसिड आक्रमण गर्ने भारतीय नागरिक राज भन्ने दिलिपराज केशरीलाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको हो। साथै दिलिपबाट एक लाख रुपैयाँ जरिवाना माग गर्ने पनि अदालतले फैसला गरेको छ।

त्यस्तै दिलिपलाई सहयोग गर्ने अर्का नेपाली नागरिक सन्जय मण्डललाई दुई वर्ष ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला भएको मकवानपुर जिल्ला अदालतका श्रेस्तेदार केशवराज कौशिकले देखापढीलाई बताए।

दुवै ‘अपराधी’बाट उठ्ने जरिवाना रकम एक लाख ४० हजार रुपैयाँ पीडितलाई क्षतिपूर्ति बापत भराइदिन पनि अदालतले आदेश दिएको छ।

हेटौंडा–२ स्थित आफ्नै भाँडा पसललमा बसिरहेकी तत्कालीन समयमा २० वर्षकी विन्दाबासिनी कंशाकारलाई केशरीले एसिड आक्रमण गरेका थिए।

त्यसपछि केशरी र मण्डलविरुद्ध ज्यानमार्ने उद्योगमा प्रहरीमा जाहेरी परेको थियो र प्रहरीले सरकारी वकीलमार्फत् जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो। प्रहरीले केशरीलाई १४ कात्तिक २०७६ मा मा बाराबाट पक्राउ गरेको थियो।

त्यसको १० दिनपछि मण्डल हेटौंडाबाटै पक्राउ परेका थिए।

अदालतमा पीडित पक्षले उपचार गर्दा लागेको खर्चको बिल पेश गरेका थिए। भारतको अस्पतालमा उपचार गर्दा एक करोड १४ लाख ८५ हजार रुपैयाँ खर्च भएको विवरण अदालतमा पेश गरिएको थियो। त्यसको मूल्यांकनपछि न्यायाधीश बिस्टले सम्पूर्ण खर्च केशरीको सम्पत्तिबाट भराउन आदेश दिएका छन्।

“केशरीको नेपालमा कुनै पनि सम्पत्ति नदेखिएकाले पीडितले उपचार खर्च पाउने निश्चित गर्न नेपाल सरकारको नाममा निर्देशनात्मक आदेश भएको छ,” श्रेष्तेदार कौशिकले देखापढीसँग भने, “पीडकबाट उक्त रकम प्राप्त गर्न सम्भव नभएमा उपचार खर्चको यथोचित रकम नेपाल सरकारबाट भराउन पनि आदेश भएको छ।”

पीडकको नेपालमा सम्पत्ति नदेखिएकाले भारतमा रहेको उसको चल–अचल सम्पत्तिबाट पीडितलाई उपचार खर्च दिलाउन पहल गर्न पनि अदालतले सरकारलाई आदेश दिएको छ।

प्रतिक्रिया दिनुहोस्