पोखरामा १६ वर्षका बालक आफैँले बनाए गाडी

पोखरा। पोखरा महानगरपालिका-२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी (गो कार्ट) चलाएर सबैलाई दंग पारेका छन्।

उनको सिर्जना देखेर विद्यार्थी, शिक्षक तथा अभिभावक खुसी देखिए।

विद्यालयको २७ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी चलाएर देखाएका हुन्। विद्यालयले उनीसँगै विज्ञान शिक्षक योगराज पौडेललाई पनि सम्मान गरेको छ।

रुपेशले बनाएको गाडी चलाउँदै प्रमुख अतिथि पोखरा महानगरपालिका-२७ का वडा अध्यक्ष पूर्णकुमार गुरुङले सिकेका विषयलाई व्यवहारमा उतारेको भन्दै प्रशंसा गरेका छन्।

विज्ञान र प्रविधिमा रुचि राख्ने १६ वर्षीय रुपेश सामान्य परिवारका विद्यार्थी हुन्।

उनीमा जिज्ञासु स्वभाव रहेको विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेलले बताए।

“उनी जिज्ञासु छन्, यसअघि पनि उनले डोजर, जेसिभी, हाइड्रोलिक ब्रिज, सानो गाडी बनाइसकेका छन्”, पौडेलले भने।

पर्वतको कुष्मा नगरपालिका-१ पाङ स्थायी बसोवास भई रुपेशको परिवार अहिले पोखराको रिठेपानीमा बस्दै आएको छ।

उनका बाबु सोमबहादुर चँदराको रिठेपानीमा ग्रिल उद्योग छ।

बुबाले ग्रिल उद्योग चलाएका कारण गाडी बनाउनका लागि सामग्री जुटाउन आफूलाई निकै सजिलो भएको रुपेशले बताए ।

झण्डै २० दिनमा तयार गरेको गाडीका लागि एक लाख २० हजार जति खर्च लागेको भन्दै रुपेशले विद्यालय र परिवारको साथ पाएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्