नेकपा रुपन्देहीले एकता र जनसम्बन्ध विस्तार अभियान चलाउने
<p>बुटवल। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले तीनमहीने विशेष अभियान सञ्चालन गर्ने भएको छ। आज बुटवलमा बसेको जिल्ला पार्टीको तेस्रो पूर्ण बैठकले तीनमहीने पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्ने लगायतका विभिन्न निर्णय गरेको हो।</p>
<p>पार्टीका केन्द्र र प्रदेश कमिटीका हालै सम्पन्न बैठकले सबै ७७ वटै जिल्लामा अभियान सञ्चालन गर्न निर्देशन गरेसँगै आज बसेको रुपन्देही पार्टीको बैठकले यस्तो निर्णय गरेकाे पार्टीका जिल्ला प्रचार विभाग प्रमुख मोहन चापागाईंले जानकारी दिए।</p>
<p>नेकपा रुपन्देहीका संयोजक शिवराज सुवेदीको अध्यक्षतामा बुटवलमा बसेको बैठकले विभिन्न विभागलाई पूर्णता दिनुका साथै सल्लाहकार परिषद् गठन र सदस्यहरू मनोनीत गरेको छ। रुपन्देहीमा पार्टी र पार्टीले नेतृत्व गरेका विभिन्न तहमा सरकारका कामका बारेमा जानकारी गराउनुका साथै सरकारका र पार्टीका कामलाई जनस्तरमा पुर्‍याउने गरी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमुख चापागाईंले जानकारी दिए।</p>
<p>नेकपा रुपन्देहीले करीब ८०० अगुवालाई कमिटीमा समावेश गर्दै सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, २८ वटा विभाग, प्रतिनिधि तथा प्रदेशका निर्वाचन क्षेत्रीय कमिटी, लेखा समिति, निर्वाचन समिति र संयन्त्र निर्माणका विभागमार्फत् परिचालन गरिएको प्रचार विभाग प्रमुख चापागाईंले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
