नक्कली प्रहरीलाई तलब !

काठमाडौं। हुँदै नभएका प्रहरीलाई समेत तलब दिएर प्रहरीमा अनियमितता भएको खुलेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वडिएसपीसहित सात प्रहरीविरुद्ध १३ फागुनमा मुद्दा दायर गरेको छ।

साथै उनीहरूको अनियमितता लुकाउन सहयोग गर्ने लेखापरीक्षणमा आबद्ध पाँच कर्मचारीलाई पनि मुद्दा चलाइएको खबर नयाँ पत्रिकाले छापेको छ।

तलब, रासन भत्ता तथा अन्य भत्ता अनियमितता गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायब उपरीक्षक त्रिलोकबहादुर चन्द र कृष्णबहादुर कुँवरसहित १० जनाविरुद्ध मुद्दा दायर भएको हो ।

दुई पूर्वडीएसपी तथा लेखापात्र माधव चन्द ठकुरीलाई थुनामै राखेर आयोगले मुद्दा चलाएको हो ।

पूर्वडीएसपी चन्द तथा कुँवरविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएको छ। चन्दसहित तत्कालीन लेखापाल सइ माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायकहरू हवल्दार टंकबहादुर मल्ल र प्रहरी जवान सर्वराज खत्रीसमेतको मिलेमतो रहेको भन्दै आयोगले मुद्दा दायर गरेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्ला र अन्तर्गतका प्रहरी कर्मचारीको असोज २०७२ देखि असार २०७३ सम्म तलब, स्थानीय भत्ता तथा रासनसमेतको भर्पाईमा जोडजम्मामा फरक पारी ३० लाख ९० हजार पाँच सय ८ रुपैयाँ ५० पैसा हिनामिना गरेको आयोगले जनाएको छ।

त्यस्तै, कार्यरत नै नरहेका ईश्वरी श्रीष भन्ने व्यक्तिको नाममा स्थानीय भत्ता तथा रासन भत्तामा खर्च गरेको देखाएर ६९ हजार ५१ रुपैयाँसमेत अनियमितता गरेका थिए ।

उनीहरूको अनियमिततामा साथ दिने कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्तबहादुर शाहीविरुद्ध समेत मुद्दा दायर भएको छ।

प्रतिक्रिया दिनुहोस्