रहेनन् इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारक
काठमाडौं । इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकको निधन भएको छ। ९१ वर्षीय मुबारकको कायरोमा निधन भएको कायरोमा उनको निधन भएको इजिप्टका सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजिप्टमा आन्दोलन हुनुपूर्व मुबारकले तीन दशकसम्म शासन गरेका थिए। उनी सन् २०११ मा राष्ट्रपति पद छोड्न बाध्य भएका थिए।

जनवरीको अन्तिमतिर उनको अपरेशन भएको थियो। शनिवार उनलाई सघन उपचार कक्षमा राखिएको उनका पुत्र अलाले जनाएका थिए।

सन् १९२८ मा जन्मिएका मुबारक किशोरावस्थामा नै वायु सेनामा प्रवेश गरेका थिए । सन् १९७३मा भएको अरब-इजरायल युद्धमा उनले महत्वपूर्ण भूमिका खेलेका थिए।

त्यसको एक दशकपछि तत्कालीन राष्ट्रपति अनवर सदतको हत्यालगत्तै उनी राष्ट्रपति बनेका थिए। उनले इजरायल-प्यालेस्टाइन शान्ति प्रक्रियामा महत्वपूर्ण भूमिका खेले।

लाखौं डलर सैन्य सहायता पाउँदा पनि उनको समयमा इजिप्टमा बेरोजगारी, गरिबी र भ्रष्टाचार बढेको थियो।

ट्युनिशियाबाट शुरू भएको अरब आन्दोलनले जनवरी २०११ मा उनलाई राष्ट्रपति पदबाट बर्खास्त गरेको थियो।

त्यसको एक वर्षपछि मोहमद मर्सी इजिप्टका पहिलो जननिर्वाचित राष्ट्रपति बनेका थिए।

सन् २०१२ मा मुबारकलाई नौ सय जति आन्दोलनकारीको मृत्युको जिम्मेवार ठहर्याउँदै जन्म कैदको सजाय सुनाइएको थियो। साथै उनी र उनका दुवै छोरालाई भ्रष्टाचार गरेको पनि ठहर गरिएको थियो।

सन् २०१७ मा यी सबै मुद्धा उल्ट्याइयो र उनी जेलमुक्त भएका थिए। -बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्