‘पारस’मा अनमोल इन निश्चल आउट

काठमाडौं। अभिनेता अनमाेल केसी ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन्। यहीबीचमा उनको हातमा अर्को चलचित्र पनि परेको छ।

‘लुट’ चलचित्रका निर्माता माधव वाग्लेको निर्देशनमा बन्न लागेको चलचित्र ‘पारस’मा अनमोल अनुबन्ध भएका छन्। आज निर्माता वाग्ले र अभिनेता अनमोलबीच कागजी सम्झौता भएको छ।

भूवन केसी निर्माता रहने चलचित्र सुपर काजल फिल्मसको ब्यानरमा निर्माण हुनेछ। यसअघि भूवन र वाग्लेबीच चलचित्रमा अनमोललाई ल्याउने विषयमा छलफल भएको थियो।

अनमोलले अब ‘ए मेरो हजुर ४’ को छायांकन भ्याएपछि ‘पारस’मा काम गर्नेछन्। निर्माताबाट निर्देशक बन्न लागेका वाग्लेले फिल्मको छायांकन वैशाख दोस्रो साताबाट शुरू हुने बताए।

प्रदीप भारद्वाजको कथा रहेको यो चलचित्रमा यसअघि निश्चल बस्नेतलाई नायकको रूपमा राखिएको थियो। अनमोलको हातमा ‘एन्टी हिरो’ पनि छ। अब ‘एन्टी हिरो’को छायांकन धकेलिएको छ।

चलचित्र विकास बोर्डमा चलचित्रको नाम दर्ता गर्दा एकजना कलाकारको नाम राख्नुपर्ने नियमका कारण वाग्लेले निश्चलको नाम राखेका थिए।

एक दशकदेखि निर्माताको रूपमा अनुभव बटुलेका वाग्ले पहिलोपटक निर्देशक बन्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्