मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौं। मौसम पूर्ण रूपमा सुधार हुन अझै केही दिन लाग्‍ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर रहे पनि तल्लो वायुमण्डलमा स्थानीय वायुको प्रभाव रहेकाले ठाउँ-ठाउँमा बदलीसँगै हल्का वर्षा भइरहेको मौसमविद् राजु प्रधानाङ्गले बताए।

“अहिलेको प्रकृति हेर्दा अझै दुई/तीन दिन मौसम सुधार हुने अवस्था छैन”, उनले भने।

प्रधानाङ्गका अनुसार प्रि-मनसुनको अवस्था भएकोले पनि मौसम फेरबदल भइरहेको हो।

नेपालमा प्रि-मनसुन भित्रिने सरदर समय १ मार्च हो।

मार्चदेखि शुरु हुने प्रि-मनसुन मे महीनासम्म रहन्छ।

यस अवधिमा पहाडी भेगमा दिनभर घाम लाग्ने र अपराह्न तथा साँझपख हावाहुरी, मेघ गर्जन चट्याङसहित फाटफुट वर्षा हुने गर्दछ।

हाल न्यून चापीय प्रणालीको प्रभावले पश्चिमी भूभागमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्का वर्षा भइरहेको छ भने बाँकी स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज राति देशको मध्य तथा पूर्वी भूभागमा साथै पश्चिमका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम छ दशमलव दुई र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री रहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्