नेपाली सेनाका उपरथी हमाल संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डर नियुक्त

काठमाडौं। नेपाली सेनाका उपरथी इश्वर हमाल संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डर नियुक्त भएका छन्।

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले उपरथी हमाललाई फोर्स कमाण्डर नियुक्त गरेका हुन्।

महासचिवको कार्यालयका प्रवक्ताले आज जारी गरेको विज्ञप्तिमा हमाललाई राष्ट्रसंघको हेड अफ मिसन र युनाइटेड नेसन्स डिस्इंगेज्मेन्ट अब्जर्भर फोर्स (युएनडीओएफ)को फोर्स कमाण्डर नियुक्त गरिएको उल्लेख छ।

राष्ट्रसंघ महासचिवका प्रवक्ताका अनुसार उपरथी हमालले अब सेनाका अर्का उपरथी शिवराम खरेलले सम्हाल्दै आएको जिम्मेवारी लिनेछन्।

हमालले मध्यपूर्वको सिरियाको गोलानहाइटस्थित संयुक्त राष्ट्रसंघीय शान्ति सेनाको नेतृत्व गर्नेछन्। उक्त क्षेत्रमा नेपाललगायत झण्डै ४० देशका सैनिकहरु कार्यरत रहेका छन् ।

खरेल संयुक्त राष्ट्रसंघका कार्यवाहक हेड अफ मिसन र युएनडीओएफको फोर्स कमाण्डरका रुपमा कार्यरत् थिए।

दशक लामो हिंसात्मक विद्रोहमा भएको मानवअधिकार उल्लंघनलाई कारण देखाएर राष्ट्रसंघले लामो समय नेपाली सेनालाई फोर्स कमाण्डर दिन बन्द गरेको थियो।

तर, पछिल्लो समय भने सेनाले फेरि नियमित रूपमा फोर्स कमाण्डर पाउन थालेको छ।

प्रतिक्रिया दिनुहोस्