दिल्लीमा नागरिकता कानूनविरुद्धको प्रदर्शन हिंसामा परिणत, एक प्रहरीको मृत्यु

काठमाडौं। दिल्लीको यमुना पार क्षेत्रमा नागरिकता संशोधन कानूनविरुद्ध जारी प्रदर्शन हिंसामा परिणत भएको छ।

हिंसात्मक प्रदर्शनमा प्रहरीका एक वरिष्ठ हवल्दारको मृत्यु भएको छ। एक जना वरिष्ठ प्रहरी अधिकारी घाइते भएका छन्।

दिल्ली प्रहरीका अनुसार उत्तर-पूर्वी दिल्लीमा धारा १४४ लागू गरिएको छ। त्यहाँ अब मानिसहरू भेला हुन पाउने छैनन्। जाफराबाद, मौजपुर, सीलमपुर र चाँदवाग क्षेत्रमा हिंसात्मक प्रदर्शन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

कयौं स्थानमा ढुंगामुढा र आगजनी भएको छ। प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले ठूलै कसरत गर्नुपरेको छ। प्रहरीले प्रदर्शनकारीलाई तितरवितर पार्न लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको छ।

प्रदर्शनकारीले कतिपय घर र व्यावसायिक प्रतिष्ठानमा आगजनी गरिदिएका छन्। हिंसात्मक प्रदर्शन भएको क्षेत्रमा मुस्लिम बाहुल्यता रहेको छ।

दिल्ली मेट्रोका पाँच स्टेसन सुरक्षाका कारण देखाउँदै बन्द गरिएको छ। दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले त्यहाँका लेफ्टिनेन्ट गभर्नर र केन्द्रीय गृहमन्त्रीसमक्ष शान्ति व्यवस्था कायम गर्न आग्रह गरेका छन्।

११ फागुनमा पनि झपराबाद मेट्रो स्टेशनमा नागरिकता संशोधन कानूनको समर्थक र विरोधीबीच हिंसात्मक झडप भएको थियो।

उत्तरपूर्वी दिल्लीका डीसीपी बेदप्रकाश सूर्याका अनुसार दुबै पक्षसँग प्रहरीले वार्ता गरेपछि अहिले अवस्था शान्त भएको छ।

प्रतिक्रिया दिनुहोस्