फेवातालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता, दुईजनाको सकुशल उद्धार
पाेखरा। पोखराको फेवातालमा आज दिउँसो डुंगा पल्टिँदा काठमाडौं महानगरपालिका-१०, कपनका रामशरण लुइँटेल बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी राखिएको छ।

काठमाडौंबाट घुम्न गएका तीनजना आज दिउँसो १ बजे डुंगा चढेका थिए। प्रहरीका अनुसार त्यसको केहीबेरपछि नै डुंगामा पानी भरिएपछि पल्टिएको हाे।

इलाका प्रहरी कार्यालय बैदामका प्रहरी नायव उपरीक्षक यादव ढकालले डुंगा पल्टिएलगत्तै त्यहाँ रहेका गोताखोरसहित सुरक्षाकर्मीको टोलीले उद्धार गर्न सफल भएको बताए।

उनका अनुसार काठमाडौं महानगरपालिका-१२, कपनकै अन्य दुईजना रूपेश अधिकारी र सुमिन चालिसेको उद्धार गरिएकाे हाे।

चालकबिना आफैं चलाएर लगेको डुंगा पल्टिएको डीएसपी ढकालले बताए।

“आफैंले चलाउने क्रममा पानी भरिएर पल्टिएको भन्ने बुझिएको छ”, उनले देखापढीसँग भने, “थप अनुसन्धान गर्दैछौं।”

बेपत्ता लुइँटेलले डुंगा चढ्दा लगाउनुपर्ने लाइफ ज्याकेट नलगाएको बुझिएको प्रहरीकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्