पर्वतमा रोकिएको जनता आवासका ११९ घर निर्माण फेरि थालियो

पर्वत। बजेट अभावले लामो समयदेखि रोकिएको जनता आवास कार्यक्रमअन्तर्गतका घर निर्माणले गति लिएको छ।

जिल्लाका फलेबास, कुश्मा, बिहादी, जलजला र महाशिलामा विपन्न समुदायका लागि ११९ घर निर्माणाधीन छन्।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन डिभिजन कार्यालय पोखरामार्फत यी घर निर्माण शुरू भएको थियो।

कार्यालयका निमित्त प्रमुख अनुप थापाका अनुसार चालु वर्ष जिल्लामा १५० घर निर्माण गर्ने लक्ष्य छ।

“हालसम्म ५० को हाराहारी घर बनेका छन्”, उनले भने, “अहिले त बजेटको समस्या छैन। यो वर्षभित्रै सबै घर बनाइसक्ने छौँ ।”

चार वर्षअघिदेखि घर निर्माण थालिएको हो। शुरूको वर्ष १०० घर निर्माण थालिएको थियो ।

२०७२ सालमा मा शुरू ‘जनता आवास’ कार्यक्रममार्फत साविकका १० गाविसका १०० घर निर्माण शुरु भएर लामो समय रोकिएको थियो।

शहरी विकास मन्त्रालयले बजेट रोकेपछि आवास निर्माण अधुरै थियो।

उक्त कार्यक्रम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण भएपछि कामले गति लिएको हो।

कार्यक्रमअन्तर्गत फलेबास नगरपालिकामा ४१, कुश्मा नगरपालिकामा ३७, बिहादी गाउँपालिकामा २१, महाशिला गाउँपालिकामा ९ र जलजला गाउँपालिकामा ११ घर निर्माणको अन्तिम चरणमा छन्।

४४ परिवारले घर निर्माण सकेका छन । १११ घरपरिवारले दोस्रो किस्ता रकम लिएका छन्।

यो कार्यक्रमअन्तर्गत प्रतिपरिवारले तीन लाख रूपैयाँका दरले रकम पाउँछन् ।

“पैसा नभएपछि लामो समय घर बनाउनै सकिएन”, फलेवास-५ खानीगाउँकी सरला परियारले भनिन्, “अहिले बल्ल पैसा पाएर घर बनाइयो।

सरकारले विपन्न परिवारको सूचीमा परेका परिवारलाई दुई कोठे भूकम्प प्रतिरोधी घर निर्माण गरिदिन लागेको हो। रासस

प्रतिक्रिया दिनुहोस्