जिम्बाब्वेविरुद्धको टेष्ट क्रिकेटमा बंगलादेशकाे पुनरागमन
काठमाडौं। अबु जायद र नायीम हसनको समान चार विकेट तथा नाजमुल होसैन शान्तो र मोमिनुल हकको अर्धशतकमा बंगलादेशले जिम्बाब्वेविरुद्धको टेष्ट क्रिकेटमा पुनरागमन गरेको छ।

ढाकाको मिरपुरस्थित शेर बंगला नेशनल रंगशालामा दोस्रो दिन सकिँदा बंगलादेश अझै २५ रनले पछाडि छ। पहिलो इनिङ शुरू गरेको बंगलादेश २४०-३ को स्थितिमा छ। कप्तान क्रायग इर्भिनले शतक बनाएपछि पहिलो दिन सकिँदा जिम्बाब्वे २२८-६ को स्थितिमा थियो। भ्रमणकारी जिम्बाब्वेका रेगिस चकबभा ९ र डोनाल्ड ट्रिपानो शून्यको स्थितिमा थिए।

चकबभाले ३० रन जोडे भने ट्रिपानो आठ रनमा पवेलियन फर्किए। अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बंगलादेशका जायदले ७१ रन दिएर चार विकेट लिए भने हसनले ७० रन दिएर चार विकेट लिए। तैजुल इस्लामले दुई विकेट लिए।

त्यसपछि पहिलो इनिङ थालेको बंगलादेशले शुरूमै ओपनर आठ रन बनाएका सैफ हसनलाई गुमायो। तर, अर्का ओपनर तमिम इकबाल र सान्तोले घरेलु टोलीको इनिङ सम्हाले। इकबालले ४१ रन बनाउँदा सान्तो सात चौकासहित ७१ रन बनाएर पवेलियन फर्किए।

दोस्रो दिन सकिँदा मोमिनुल हक ७९ तथा माशफिकर रहिम ३२ रनमा अविजित छन्।

प्रतिक्रिया दिनुहोस्