चेल्सीद्वारा टोटेनह्याम २-१ ले पराजित
काठमाडौं। ओलिभर जिरौर्ड र मार्कुस एलोन्सोको गोलमा चेल्सीले आज लन्डन डर्बीमा टोटेनह्यामलाई २-१ ले हराएको छ। जितसँगै चेल्सीले इङ्लिस प्रिमियर लिगको चौथो स्थान बलियो बनाएको छ।
जितसँगै चेल्सीले २७ खेलबाट ४४ अंक बनाएको छ, जुन पाँचौं स्थानको टोटेनह्यामको भन्दा चार अंकले बढी हो। आजै सेफिल्ड युनाइटेडले ब्राइटनलाई पराजित गरे टोटेनह्याम छैटौं स्थानमा झर्नेछ। सेफिल्ड युनाइटेड विजयी भए ४१ अंक हुनेछ।
चेल्सीले १५औं मिनेटमा जिरौर्डको गोलबाट अग्रता लिएको थियो। जर्जिन्होको लामो पास नियन्त्रणमा लिएर ओलिभर जिरौर्डले हानेको पहिलो प्रहारलाई टोटनह्यामका गोलकिपर ह्युगो लोरिसले खुट्टाले रोके।
४८औं मिनेटमा मार्कोस एलोन्सोले चेल्सीको अग्रता दोब्बर बनाए। मासन माउन्टले हेडमार्फत् जिरौडलाई पास दिए। जिरौर्डले बार्कलीलाई पास दिए। बार्कलीले कसैको निगरानीमा नरहेका एलोन्सोलाई पास दिए।
एलोन्सोले २० यार्डबाट हानेको लामो प्रहारलाई टोटेनह्यामका गोलकिपर लोरिसले बचाउन सकेनन्।
८२ मिनेटमा एलोन्सोको फ्रीकिक क्रसबारमा लगेर बाहिरियो।
खेल एक मिनेट बाँकी रहँदा टोटेनह्यामले गोल फर्कायो। तर, जोजे माउरिन्होको टोलीले स्टामफोर्डब्रिजमा अंक खोस्न भने सकेन। इरिक लामेलाले हानेको बायाँ भागबाट हानेको प्रहार चेल्सीका रक्षक रुडिगरको खुट्टामा लागेर गोल भएको थियो।
चेल्सीले २२ डिसेम्बरमा टोटेनह्यामलाई २-० ले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस्