भारतविरुद्ध न्युजिल्यान्डको नियन्त्रण
काठमाठौं। टिम साउथी र केली जामिसनले समान आठ विकेट लिनुका साथै कप्तान केन विलियम्सनले अर्धशतक बनाएपछि न्युजिल्यान्डले भारतविरुद्ध पहिलो टेष्टको दोस्रो दिन ५१ रनको अग्रता लिएको छ।

भारतले १२२–५ को स्थितिबाट दोस्रो दिनको शुरुआत गरेको थियो। दोस्रो दिन भारतले थप ४३ रन जोड्दा बाँकी पाँच विकेट गुमायो। वेलिङटनमा बासिन रिजर्भमा दोस्रो दिन थाल्दा अजिन्क्या रहाने ३८ तथा रिसब पन्त १० रनको स्थितिमा क्रिजमा थिए।

रहाने ४६ रन बनाउँदा साउथीको बलमा विकेटकिपर विजे वाटलिङमार्फत् क्याच भए। पन्त १९ जोड्दा रनआउट भए। त्यसपछि मोहम्मद शामीले २१ जोड्नुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतका लागि पहिलो दिन ओपनर मयाङ्क अग्रवालले ३४, पृथ्वी शाले १८, चेतेश्वर पुजराले ११, हनुमा बिहारीले सात तथा कप्तान विराट कोहलीले दुई रन जोडेर पवेलियन फर्किएका थिए।

वर्षाले प्रभावित बनेपछि पहिलो दिन ५५ ओभरको खेल मात्र सम्भव भएको थियो।

न्युजिल्यान्डका साउथीले ४९ रन दिएर चार विकेट लिए भने जामिसनले ३९ रन दिएर चार विकेट लिए। ट्रन्ट बोल्टको नाममा एक विकेट रह्यो।

त्यसपछि ब्याटिङ थालेको न्युजिल्यान्डले दोस्रो दिन सकिँदा पाँच विकेट गुमाएर २१६ रन जोडेको छ। घरेलु टोलीका कप्तान केन विलियम्सनले ८९ रन बनाए।

विलियम्सनले दोस्रो विकेटका लागि टम ब्लुनडेलसँग ४७ रनको साझेदारी गरे। रोस टेलरसँग तेस्रो विकेटका लागि ९३ रनको साझेदारी गरेका विलियम्सनले हेनरी निकोसलसँग चौथो विकेटका लागि १९ रनको साझेदारी गरे।

विलियम्सनले ११ चौका प्रहार गरेका थिए। ओपनर टम लाथम ११ रन बनाएर आउट भए। ब्लुनडेलले ३०, टेलरले ४४, निकोलसले १७ रन जोडे। दोस्रो दिन सकिँदा वाटलिङ १४ तथा कोलिन डी ग्राण्डहोम ४ रन बनाएर क्रिजमा छन्।

प्रतिक्रिया दिनुहोस्