गर्भ जाँच गराउन आउने सबैलाई कोशेली
लम्की। कैलालीको जानकी गाउँपालिकाले ४०० गर्भवतीलाई पोषण उपहार प्रदान गरेको छ। स्वास्थ्य संस्थामा नियमित गर्भजाँच गराइरहेका गर्भवतीलाई पोषणस्वरुप खानेकुरा र नगद प्रदान गरेको हो। उपहारमा एक क्यारेट अण्डा, आयोडिन नुन, सरसफाइका सामान र  एक हजार नगद रहेको छ।
अमरावतिकी जमुनाकुमारी चौधरीले गाउँपालिकाले गर्भवतीको स्वास्थ्यमा ध्यान गर्न सन्देश दिएको बताइन्। “पोषण उपहारसँगै गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा र खानपानबारे समेत जानकारी पायौँ”, उनले भनिन्, “यो कार्यक्रमले घरपरिवारलाई समेत गर्भवतीको स्वास्थ्यमा सचेत रहन सजग गराउँछ।”
वन्देविपुरकी रीता विष्ट गर्भवती छिन्। उनीसँगै कोशेली बुझ्न उनका श्रीमान् पनि साथमा आएका थिए । “मेरो श्रीमती गर्भवती भएको सात महिना भयो। यहाँ आएपछि मैले धेरै जानकारी पाएँ”, रीताका श्रीमान् विष्टले भने, “अब म मेरो श्रीमतीको खानपानमा पूरै ध्यान दिन्छु, उनीलाई चाहिने आराम, वातावरणबारे पनि म सचेत हुन आवश्यक रहेछ।”
कोशेली वितरणका लागि गाउँपालिकाले सात लाख रुपैयाँ विनियोजन गरेको छ। जसबाट दुई चरणमा कोशेली दिने तयारी छ।
पहिलो चरणमा फागुन र दोस्रो चरणमा जेठ मसान्तमा कोशेली दिइने गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले जानकारी दिए। “ग्रामीण महिला गर्भावस्थामा खानपानमा ध्यान दिँदैनन्,यसले बच्चा र आमाको स्वास्थ्यमा असर गर्छ” उनी भन्छन्, “सचेतना फैलाउने उद्देश्यका साथ कोशेली दिन थालेका हौं। एक दिन मात्र दिएर पोषण वृद्धि त हुँदैन तर, महिला र तिनका परिवार सचेत हुन सक्छन्।”
जन्मिने नवजात शिशुलाई स्वस्थ बनाउन पोषण उपहार कार्यक्रम सहयोगी हुने उपाध्यक्ष उमा महत्तोले बताइन्। “हाम्रो समाजमा गरिबी छ। बुहारीले घरका सबैले खाना खाएपछि खाने चलन छ। अन्त्यमा खाने बुहारीलाई खाना नपुगे उनीहरु भोकै बस्छन्’’, उनी भन्छिन्, “अनि कसरी पोषणमा सुधार आउँछ ? धेरै महिलामा रक्तअल्पताको समस्या देखिन्छ, बच्चा जन्माउँदा रगत आवश्यक पर्छ। त्यसकारण यो अभियान थालिएको हो।”
गाउँपालिकाले स्वास्थ्य संस्थामा गर्भजाँचमा आएकालाई मात्र यो कोशेली दिने गरेको छ। स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले नियमित गर्भजाँच गर्ने बानीको विकास गर्नका लागि पनि कोशेलीले सघाउने विश्वासव्यक्त गरे। गाउँ टोलमा कोशेली कार्यक्रमबारे महिला स्वास्थ्य स्वयंसेविकाले जानकारी दिने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्