जंगलमा लडेर बेहोस भएकी श्रीमतीको हत्या

काठमाडौं। ललितपुरको लेले सामुदायिक वनमा २४ माघमा हत्या गरिएकी ४० वर्षीया खगेश्वरा दमाईलाई आफूले हत्या गरेको उनका श्रीमान गिरबहादुरले प्रहरीसमक्ष स्वीकार गरेका छन्।

ललितपुरको लेलेमै एक कृषी फर्ममा कार्यरत गिरबहादुर दम्पत्ति त्यसरात काम छाडेर भाग्दै थिए। गिरबहादुरले प्रहरीलाई दिएको बयानअनुसार उनकी श्रीमती छारे रोगबाट पीडित थिइन्। भाग्ने क्रममा जंगलमा उनी लडेर बेहोस भएपछि गिरबहादुरले उद्धार गरी उपचार गराउनुको सट्टा हत्या गरे र फरार भए।

प्रहरीले उनलाई सुर्खेतमा पक्राउ गरेर ८ फागुनमा ललितपुरस्थित महानगरीय प्रहरी वृत चापागाउँ ल्याएको हो।

श्रीमतीको रोगलाई लिएर सबैले तिरस्कार गरेपछि काम छाडेर भाग्ने निर्णय गरेको उनले प्रहरीलाई बयान दिएका छन्। “राति भाग्ने क्रममा बिरामी श्रीमती लडेर बेहोस भइन। त्यसपछि तनावमा आएर कुटपिट गरेर हत्या गरेको हुँ”, उनले प्रहरी समक्ष बयानका क्रममा भनेका छन्।

महानगरीय प्रहरी वृत्त, चापागाउँका डीएसपी कृष्णराज ओझाले भने,“आरोपीलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेका छौं। मृतकको पोष्टमार्टमको रिपोर्ट आएको छैन। त्यसपछि मृत्युको कारण खुल्ला।”

मृतकको पाटन अस्पतालमा पोष्टमार्टम गरिसकिएको छ। २४ माघमा नै हत्या भएकी खगेश्वराको शव ४ फागुनमा नग्न अवस्थामा भेटिएको थियो।

मृतकको सनाखत हुन नसकेपछि प्रहरीले गाउँमा सोधपुक्ष गर्ने क्रममा उनी स्थानीय कृषी फर्ममा काम गर्ने महिला भएको खुलेको थियो। त्यसपछि प्रहरीले मृतकको सनाखत गरेर उनका श्रीमानको खोजि गरेको थियो।

श्रीमतीको हत्या गरेपछि घर फर्किने भाडा नभएको भन्दै गिरबहादुरले केहीदिन थानकोट नजिकै एक इँटा उद्योगमा काम गरेको बताएका छन्। त्यहाँबाट ज्याला बुझेपछि गिरबहादुर सुर्खेत फर्किएका थिए।

“गिरबहादुरले काम गरेको फर्मबाट उनको ठेगाना पत्ता लगाएर पक्राउ गरेका हौं”, डीएसपी ओझाले भने, “घरमा भने उनले श्रीमती हराएको र खोजीका लागि निवेदन दिएको भन्दै झुट्टो बोलेका रहेछन्।”

प्रहरीले उनलाई पक्राउ गरेपछि मात्रै घरपरिवार र गाउँलेले उनले हत्या गरेर आएको थाहा पाएका थिए।

पक्राउ परेका गिरबहादुरविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि म्याद थप्न ललितपुर जिल्ला अदालतमा ११ फागुनमा लैजाने छ।

प्रतिक्रिया दिनुहोस्