काठमाडौंमै प्रतिक्रिया दिने भन्दै धनगढीबाट उडे सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं। कन्चनपुरमा शुरु भएको एक महोत्सवको उद्घाटन र नेकपाको नगरस्तरीय कार्यक्रमहरुमा सहभागी हुन ७ फागुनमा कन्चनपुर आएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा काठमाडौं नफर्कंदै उनले कमिसन मागेको अडियो सार्वजनिक भयो।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदसम्बन्धमा एक स्वीस कम्पनीको नेपाली एजेन्ट विजयप्रकाश मिश्रसँग कमिसन मोलमोलाइ गरेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँस्कोटा विवादमा परेका छन्।

सञ्चारमन्त्री बाँस्कोटा बिहानै कन्चनपुरबाट धनगढी विमानस्थल आउँदै गरेका थिए । त्यसक्रममा विमानस्थल आसपास सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको थियो । अत्तेरियाबाट पनि थप सुरक्षाकर्मी मगाइएको थियो र सशस्त्र प्रहरी पनि खटाइएको थियो ।

यसरी धनगढी विमानस्थल आइपुगेका सञ्चारमन्त्री बाँस्कोटासँग उनको अडियोबारे पत्रकारले प्रतिक्रिया मागेका थिए । तर, बाँस्कोटाले कुनै प्रतिक्रिया दिन मानेनन् । उनले काठमाडौं पुगेर पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

मन्त्री बाँस्कोटा श्री एअरको विमानबाट काठमाडौंका लागि उडेका छन् । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा नियमित साप्ताहिक पत्रकार सम्मेलन हुँदै छ । मन्त्री बाँस्कोटाले हरेक साताको विहीबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्