काखबाटै चोरेर बालबालिका तस्करी

काठमाडौं। सिन्धुपाल्चोक कठरीका मञ्जु-भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे।

उनीहरूका तीन छोरामध्ये दुई थिए- रामकुमार र बालकृष्ण। उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए।

खाने, बस्ने र पढ्ने व्यवस्था त्यहीं हुने सुनेपछि आमा-बुवाले खुसीसाथ पठाइदिए।

घटना १० वर्षअघिको हो। उनीहरूको उमेर क्रमशः ८ र ६ वर्ष थियो। बालगृहले लामो समयसम्म खड्का दम्पतीलाई सन्तानसँग भेट्न दिएन।

उल्टै ज्यानको धम्की आउन थाल्यो। बाध्य भएर उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए। आयोगले ती बालकको खोजी गर्‍यो। पत्ता लाग्यो-नेपालबाट हराएका ती बालक इटाली पुर्‍याइएका रहेछन्।

घटना अनुसन्धान गरिरहेकी आयोगकी उपनिर्देशक मञ्जु खतिवडा भन्छिन्, "पढाइदिने प्रलोभनमा लगेको बालगृहले नै फर्जी कागज बनाएर ती बालक इटाली पुर्‍याइएको पाइयो। सकेसम्म नफस्ने तरिकाले कागजात तयार पारेको भेटियो।"

घटना अनुसन्धानपछि आयोगले सरकारको ध्यानाकर्षणसमेत गरायो।

सयौं छोराछोरीलाई सरकारी रेकर्डमा नराखी धर्मपुत्र/पुत्री बनाएर विदेश पुर्‍याइएको छ। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार सन् २०१० देखि २०१९ को जुलाईसम्म अमेरिकासहित १० मुलुकमा ६४ बालबालिका धर्मपुत्र-धर्मपुत्री बनाएर लगिएको छ।

तर, अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र नौ मुलुकले नेदरल्यान्डस्थित अन्तरसरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल’ (एचसीसीएच) लाई बुझाएको सूची जोड्दा २४२ जना पुग्छ।

खतिवडा बालबालिका तस्करी भएर विदेश पुगेका कारण तथ्यांक फरक देखिएको बताउँछिन्।

उनी भन्छिन्, "तस्करहरूले फर्जी कागजात बनाएर, सरकारी कर्मचारी र अभिभावकलाई समेत विभिन्न प्रलोभनमा पारेर नेपाली बालबालिका विदेश पुर्‍याइरहेका छन्।"

अमेरिका, डेनमार्क, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, क्यानडा, जर्मनी, बेल्जियम, इटाली र स्विडेनका यी तथ्यांकले चोर बाटोबाट बालबालिका तस्करी हुने गरेको आजको अन्‍नपूर्ण पोष्टमा समाचार छ।

नेपालबाट बालबालिका सजिलै धर्म सन्तानका रूपमा लैजान सकिन्न। नेपाली बालबालिका विदेशी नागरिकलाई धर्मपुत्र, धर्मपुत्री ग्रहण गर्न दिने सर्त तथा प्रक्रिया–२०६५ ले रोजेर धर्म सन्तान ग्रहण गर्न नपाइने व्यवस्था छ।

त्यसैगरी धर्मसन्तान ग्रहण गर्न चाहने विदेशी नागरिकले सूचीकृत विदेशी संस्था र एजेन्सी वा नेपालस्थित आफ्नो देशको दूतावासमा निवेदन दिनुपर्ने हुन्छ।

त्यसो नभए नेपालका निम्ति तोकिएको दूतावासमार्फत धर्म सन्तान ग्रहण गर्न चाहने बालबालिकाको उमेर, लिंग र अन्य विवरण खुलाई तोकेबमोजिमको ढाँचामा निवेदन पेस गर्नुपर्ने हुन्छ।

निवेदकले पेस गरेको विवरणअनुसार बालबालिका छनोट गर्ने जिम्मा सहसचिव नेतृत्वको ‘परिवार छनोट समिति’ को हुने व्यवस्था सर्त र प्रक्रियाको दफा १४ मा उल्लेख छ।

सर्त र प्रक्रियाको दफा १४ (३) अनुसार प्राप्त निवेदकको विवरणका आधारमा पहिला निवेदन दिने र परिवार छनोट समितिमा पहिला दर्ता भएको निवेदनलाई पहिलो प्राथमिकतामा राखेर बालबालिका छनोट गर्नुपर्ने व्यवस्था छ।

तर, एचसीसीएचको वेबपेजबाट प्राप्त विवरणले ठूलो संख्यामा यो प्रक्रिया छलेर बालबालिका विदेश पुगेको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्