पैदल यात्रुमैत्री छैनन् नेपालगञ्जका सडकपेटी

बाँके। नेपालगञ्जका अधिकांश सडकपेटी पैदल यात्रुमैत्री छैनन्। जोखिम मोलेर यात्रुले मुख्य सडकबाटै हि‌ंड्नुपर्ने बाध्यता छ।

सडकपेटीमा व्यवसायीले सामान राखेर हिंड्नै नमिल्ने बनाउने गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाको प्रभावकारी ध्यान जान सकेको छैन।

नेपालगञ्जको मुख्य बजारका रूपमा रहेको त्रिभुवन चोक, सदरलाइन, बागेश्वरी मन्दिर क्षेत्र नयाँ सडक र सुर्खेतरोडमै यस्तो समस्या बढी देखिएको छ। सदरलाइन, त्रिभुवन चोक, बागेश्वरी मन्दिर आसपासको सडकपेटी ज्यादै साँघुरो छ। दुई पैदलयात्रु क्रस हुन मुस्किल पर्ने गरेको छ। त्यसैमाथि स्थानीय व्यवसायीले सडकपेटीमै पसल राख्ने गरेपछि झनै समस्या बढेको छ।

विपरीत दिशाबाट आउँदै गरेकालाई पालो दिएरमात्रै आफू अघि बढ्ने संरचना छन्। बाटो काट्न र गन्तव्य पुग्ने संरचना मापदण्डअनुसार नहुँदा सवारी चालकले पनि दिनहुँ समस्या झेल्नुपर्ने बाध्यता रहेको सवारी चालक ईश्वरी शर्मा बताउँछन्।

सडक मापदण्ड, २०७० अनुसार सडकपेटीमा पाँचसय पैदल यात्रु हिँड्ने भएमा एक दशमलब पाँच मिटरको चौडाइ भएको फुटपाथको व्यवस्था गरिनुपर्ने प्रावधान छ। एक हजार पाँच सयसम्म पैदल यात्रु हिंड्ने भएमा दुई मिटर र २५ सयसम्म यात्रु हिँड्ने भएमा साढे दुई मिटरको हुनुपर्छ। साढे तीन हजारसम्म यात्रुको ओहोरदोहोर हुने सडकपेटीको चौडाइ तीन मिटरको हुनुपर्छ । तर, नेपालगञ्जमा यस्तो मापदण्डअनुसार सडकपेटी बनेका छैनन्। बनाउनेतर्फ पनि कसैले चासो देखाएका छैनन्।

सदरलाइन, पासाङ ल्हामुमार्ग, फुलटेक्रा जाने सडकमा त प्रभावकारी सडकपेटी नै छैन। भएका पनि अतिक्रमणमा परेर पैदल यात्रुले हिँड्न त के हेर्नसमेत नसकिने अवस्थामा छन् । अधिकांश पेटी साँघुरा भएकाले एक जनासमेत हिँड्न मिल्दैन। पछिल्लो समयममा स्तरोन्नति गरिएको सुर्खेतरोडमा समेत व्यवसायीले अतिक्रमण बढाएका छन्। “मापदण्डअनुसार सडकपेटी नभएको सत्य हो”, उपमहानगरपालिकाका सूचना अधिकारी शरद पौडेल भन्छन्, “सडक विस्तार गर्दा सवारी गुड्ने संरचनालाई प्राथमिकतामा दिँदा समस्या बढ्न थालेको हो।” उनका अनुसार बढ्दो जनघनत्वले नेपालगञ्जमा यस्तो समस्या आएको हो।

सडकपेटी ओगटेर मोटरसाइकल र सवारी पार्किङ गर्ने र सार्वजनिक सेवा प्रदायक निकायले सवारी पार्किङको सुविधा उपलब्ध नगराउँदा समस्या बढिरहेको छ। रासस

प्रतिक्रिया दिनुहोस्