केजरीवालको शपथ सभामा ‘दिल्लीका निर्माता’

काठमाडौं। तेस्रोपटक दिल्लीको विधान सभा निर्वाचन जितेको आम आदमी पार्टी (आप)का प्रमुख अरविन्द केजरीवालले आज दिल्लीको मुख्य मन्त्रीको शपथ ग्रहण गरे। उनको शपथ ग्रहण समारोह उनको पार्टीको कार्यशैलीजस्तै अरुको भन्दा फरक थियो।

प्रायः राजनीतिक दलका यस्ता कार्यक्रममा उनीहरूकै नेताहरू रहने गर्छन्। तर केजरीवालको शपथ ग्रहण समारोहमा दिल्लीका ५० जना ‘आम जनता’ थिए। स्कुलका शिक्षक, डाक्टर, परीक्षाका उत्कृष्ट विद्यार्थीहरू, अटो ड्राईभर, शिशु स्याहारकर्ता र सफाई मजदूरहरू उनको शपथ ग्रहण समारोहको मञ्चमा थिए। उनीहरूलाई केजरीवालले ‘दिल्लीका निर्माता’का रुपमा चिनाएका थिए।

“यो कार्यक्रमका प्रमुख अतिथीलाई चिनाउन पाउँदा म निकै हर्षित छु। दिल्लीका निर्माता यहाँ हुनुहुन्छ”, उनले भने।

“कसले चलाउँछ दिल्ली? केजरीवालले चलाउँदैन। न कुनै नेताले चलाउँछ। न त कुनै राजनीतिक दलले। दिल्ली त शिक्षक, डाक्टर, अटो ड्राईभर, बस ड्राईभर, फ्याक्ट्रीका मालिक जसले मानिसहरूलाई रोजगार दिन्छन्, उनीहरूले चलाउँछन्”, उनले भने।

आपले यी ‘दिल्लीका निर्माता’बारे ट्वीट पनि गरेको थियो। ती मध्ये थिए – अन्तर्राष्ट्रिय टेनिस खेलाडी सुमित नागल, अटो ड्राईभर लक्ष्मण चौधरी, सरकारी विद्यालयका शिक्षक मनु गुलाटी आदि।

“यदि यो शहरले प्रगति गरिरहेको छ भने यिनै मानिसहरूको कारण हो”, केजरीवालले शपथ ग्रहण समारोहमा भने।

आज दिउँसो केजरीवालले दिल्लीको रामलिला मैदानमा शपथ ग्रहण गरेका हुन्। मंगलबार सार्वजनिक गरिएको विधान सभाको निर्वाचन परिणाम अनुसार आपले दिल्लीको ७० मध्ये ६२ सीटमा विजय हासिल गरेको हो।

शपथ ग्रहण समारोहमा प्रतिपक्षी दलका कुनै पनि नेतालाई भने बोलाइएको थिएन।

निम्त्याइएका प्रधानमन्त्री नरेन्द्र मोदीले भने बनारस जानुपर्ने भएकाले आउन नपाएको जनाए। मनिस सिसोडिया लगायतका ६ जना मन्त्रीले पनि शपथ लिएका थिए। - एनडिटिभीबाट

प्रतिक्रिया दिनुहोस्