राप्ती र नारायणी नदीमा तीन गोही मरे, सातवटा जालमा

चितवन। राप्ती र नारायणी नदीमा गतवर्ष छाडिएका तीन गोही मरेका छन्।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन्।

निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुईवटा र राप्तीको बाराही होटलनजिकै एउटा गोही मृत भेटिएको हो।

ती गोही मर्नुका कारण पत्ता लगाउन पोष्टमार्टम गर्न अंग पठाइएको छ ।

उनले भने, “मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ ।”

यसअघि यसै वर्ष दुईवटा गोही मरेको अवस्थामा भेटिएको थियो। संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर मात्रै फेला परेको थियो।

त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो।

यी दुवै गोही सेटेलाइट जडान गरी छाडिएका हुन्। मानिसले गोही मारेर खाएको आशंका समेत गरिएको छ।

राप्तीमा चारवटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन्।

ती गोहीलाई नियन्त्रणमा लिएर आजबाट जाल हटाइने निकुञ्जले जनाएको छ।

अनुगमनका क्रममा नारायणीमा चार वटा र राप्तीमा एउटा भाले गोही फेला परेका छन् ।

विश्वबाट नै लोप हुन लागेको घडियाल गोहीलाई निकुञ्जको कसरामा रहेको प्रजनन् केन्द्रमा हुर्काएर हालसम्म एक हजार ४६५ वटा गोही विभिन्न नदीमा छाडिसकिएको छ।

ती मध्ये राप्तीमा मात्र ७८५ गोही छाडिएको छ ।

निकुञ्जका अनुसार नारायणी नदीमा ३९९, कालीगण्डकीमा ३५, सप्तकोशीमा ९५, कर्णालीमा ४१ र बबहीमा ११० वटा गोही छोडिएको छ। पछिल्ला वर्षहरुमा राप्ती र नारायणीमा मात्रै गोही छाडिने गरिएको छ ।

पछिल्लो गणनाअनुसार राप्तीमा ११८ र नारायणीमा १०१ गोही रहेका छन् ।

सन् १९७८ मा प्रजनन् केन्द्र स्थापना भएपछि गोहीका बच्चा हुर्काएर सन् १९८१ बाट नदीमा छोड्न थालिएको हो।

नदी प्रदूषण बन्दै जाँदा घडियाल संरक्षणमा चुनौती थपिँदै गएको छ।

हरेक वर्ष यी दुई नदी किनारबाट गोहीको अण्डा संकलन गरी प्रजनन् केन्द्रमा कोरलेर हुर्काउने गरिन्छ। रासस

प्रतिक्रिया दिनुहोस्