महाकालीवारि सडक खन्दै भारत

दार्चुला। उत्तरी सीमा व्यास क्षेत्रमा भारतले नेपाल भूमिमै आएर करीब आधा किलोमिटर सडक खनेको छ।

व्यास गाउँपालिका–१ को माल्पदेखि दोपखेसम्मको भागमा डोजर गुडाउने सडक, महाकाली नदी तार्न पुल र दुई काठेपुल बनाएको हो।

भारतले नेपाली भूमिका दुई ठाउँमा सडक बनाएर निर्माण सामग्री ढुवानी गरिरहेको छ।

व्यास गाउँपालिका–१ र २ वडाको सीमा क्षेत्र बयलीधारबाट करीब एक किलोमिटरमाथि झण्डै १५० मिटर सडक खनेर भारततर्फ लगिएको छ।

त्यहाँबाट २५० मिटरमाथि फेरि नेपाली भूमिमै ३०० मिटर सडक खनिएको आजको कान्तिपुर दैनिकमा समाचार छ।

भारतले सीमा नदी महाकाली किनार हुँदै तिब्बत सीमा लिपुलेक जोड्ने सडक निर्माण गरिरहेको छ।

त्यसक्रममा भीर फुटाउन आफ्नो भूमिबाटै जान अप्ठेरो भएपछि नेपाली भूमिमा डोजर प्रयोग गरेको हो।

व्यास–१ कै पेल्सितीमा भारतले महाकालीमाथि काठेपुलसमेत राखेको छ।

नेपाली भूमिमा भारतले डोजर गुडाउने बाटो बनाएको तीन साताभन्दा बढी भएको निर्माण सामग्री ढुवानीमा संलग्न एक नेपाली कामदारीले बताए।

प्रतिक्रिया दिनुहोस्