प्रधानसेनापति म्याराथनको उपाधि होमलाललाई

काठमाडौं। ४२ दशमलव १९५ किलोमिटरको दूरी दुई घण्टा २२ मिनेट १७ सेकेण्डमा पूरा गरेर प्रधानसेनापति खुला म्याराथनको पाँचौँ संस्करणको उपाधि नेपाली सेनाका जमदार होमलाल श्रेष्ठले जितेका छन्।

नेपाली सेनाले आज आयोजना गरेको सो प्रतियोगितामा उनले साविक विजेता सेनाकै जमदार कृष्ण बस्नेतलाई पछि पार्दै एक लाख २५ हजार रुपैयाँ तथा मोटरसाइकल पुरस्कार प्राप्त गरे । दोस्रो भएका कृष्णले उक्त दूरी दुई घण्टा २३ मिनेट ४९ सेकेण्डमा पूरा गरी ६५ हजार तथा तेस्रो भएका सेनाका प्यूठ नवराज साउदले दुई घण्टा २९ मिनेट ३६ सेकेण्डमा दूरी पूरा गरी ३५ हजार पुरस्कार प्राप्त गरे।

यस्तै सेनाका अमल्दार ज्ञानप्रसाद भट्टराई र जमदार वेद सुनवार चौथो तथा पाँचौ हुँदै क्रमशः २५ हजार र १५ हजार रुपैयाँ प्राप्त गरे ।

म्याराथनको पहिलो संस्करणको उपाधि नेपाल पुलिसका भूमिराज राई, दोस्रो संस्करणको उपाधि सशस्त्र प्रहरी बलका गोपीचन्द्र पार्की तथा तेस्रो र चौथो संस्करणको उपाधि सेनाकै कृष्ण बस्नेतले जितेका थिए ।

यस्तै पुरुष हाफ म्याराथनको उपाधि भारतीय सेनाका तीर्थ पुनले जिते । उनले २१ किलोमिटर दूरी एक घण्टा पाँच मिनेट पाँच सेकेण्डमा पूरा गरे । सेनाका खगेन्द्र भाटले एक घण्टा पाँच मिनेट ५८ सेकेण्डमा सो दूरी पूरा गरी दोस्रो तथा सेनाकै दीपक अधिकारीले एक घण्टा सात मिनेट दुई सेकेण्डमा उक्त दूरी पूरा गर्दै तेस्रो भए ।

महिलातर्फको हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबकी पुष्पा भण्डारीले जितिन् । उनले निर्धारित दूरी एक घण्टा १७ मिनेट आठ सेकेण्डमा पूरा गरिन् । यस्तै नेपाल पुलिसकी राजपुरा पछाईंले उक्त दूरी एक घण्टा १८ मिनेट ३७ सेकेण्ड तथा सेनाकी विश्वरुपा बुढाले एक घण्टा २० मिनेट २२ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो भए ।

हाफ म्याराथनमा पुरुष र महिला दुवैतर्फका पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार,३५ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। रासस

प्रतिक्रिया दिनुहोस्