मोबाइलको फरेन्सिक रिपोर्ट र कार्कीको बयान कुर्दै प्रहरी

काठमाडौं। २७ माघमा ललितपुरको सानेपा निवासी पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना कार्कीको हत्या गरेर कामदारले किन आत्महत्या गरे भन्ने कारण प्रहरीले पहिल्याइसकेको छैन।

प्रहरी अनुसन्धानले कार्कीको घरमा सहयोगी रहेका विजय चौधरीले नै मुनाको हत्या गरेर आफूले आत्महत्या गरेको निष्कर्ष निकालिसकेको छ।

प्रहरीको अनुसन्धान हत्या कसले गर्‍यो भन्ने नभई चौधरीले मुनाको हत्या गरेर आत्महत्या किन गरे भन्नेमा केन्द्रित छ।

“विजयले नै हत्या गरेपछि आत्महत्या गरेको हाम्रो अनुसन्धानको निष्कर्ष हो”, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख, एसएसपी टेकप्रसाद राईले देखापढीसँग भने, “अहिले हाम्रो अनुसन्धान कारण खोज्नेतर्फ केन्द्रित छ। त्यो पनि छिट्टै बाहिर आउँछ।”

प्रहरीले मुना र विजयले प्रयोग गरेका मोबाइल फोन फरेन्सिक जाँचका लागि महाराजगञ्जस्थित नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशालामा पठाएको छ।

“मोबाइलमा भएका विभिन्न सामग्री, सामाजिक सञ्जाल लगायत फोटो, भिडिओ फुटेजले पनि धेरै कुरा खुल्छ”, एसएसपी राईले भने, “केही अन्य कारण अथवा कसैको संलग्नता थियो कि भन्ने आशंका फरेन्सिक जाँचले क्लिएर गर्छ।”

पूर्वसचिव कार्कीको घरमा जडान गरिएको सीसीटीभी फुटेजका आधारमा नै प्रहरी मुनाको हत्या गरेर विजयले आत्महत्या गरेको निष्कर्षमा पुगेको हो।

“पोष्टमार्टम रिपोर्टले पनि विजयको झुण्डिएर नै मृत्यु भएको देखाइसकेको छ”, एसएसपी राईले भने, “मुनाको मृत्यु पनि घाँटीमा डोरी कस्सिएकै कारणले भएको देखिएको छ।”

एसएसपी राईले पोष्टमार्टम रिपोर्टमा अन्य केही नदेखिएको बताए।

पाटन अस्पतालमा मुना र विजयको शवको पोष्टमार्टम गरिएको थियो। उनीहरूको दाहसंस्कारसमेत भइसकेको छ।

कार्की र चौधरी परिवारका तर्फबाट घटनाको सत्यतथ्य अनुसन्धान गरिदिन भन्दै प्रहरीमा जाहेरीसमेत दर्ता भएको छ।

कार्कीसँग सोधपुछ गर्न बाँकी

प्रहरीले मृतक मुनाका पति, पूर्वसचिव अर्जुन कार्कीसँग भने सोधपुछ गरिसकेको छैन।

घटनालगत्तै अनुसन्धान अघि बढाएको महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोलीले घटनाका सम्बन्धमा कार्की निवासमा काम गर्ने महिला, गाडी चालकलगायतसँग भने सोधपुछ गरिसकेको छ।

“हामीले छिमेकीहरूसँग पनि सोधपुछ गरिसकेका छौं”, एसएसपी राईले भने, “घरको मुख्य मानिस पूर्वसचिवसँग भने सोधपुछ गर्न बाँकी छ।”

श्रीमतीको काजकिरियामा बसेकाले कार्कीसँग प्रहरीले सोधपुछ गरेको छैन। एसएसपी राईले काजकिरिया सकिएलगत्तै कार्कीसँग सोधपुछ गरिने बताए।

“त्यसपछि धेरै कुरा खुल्ला”, उनले भने, “मोबाइल जाँचको फरेन्सिक रिपोर्ट र अन्य अनुसन्धानले कारण खुल्न सहज हुनेछ।”

घटनाको दिन भान्साकोठामा रक्ताम्मे र बेहोस अवस्थामा भेटिएकी मुनालाई उपचारका लागि सानेपाकै स्टार अस्पताल लगिएको थियो। तर, अस्पतालले केही समयपछि मृत घोषणा गरेको थियो। विजय भने घरमै मृत भेटिएका थिए।

प्रतिक्रिया दिनुहोस्