एनएनपीए स्पोर्ट्स अवार्डलाई एभरेष्ट वर्ल्डले सहयाेग गर्ने

काठमाडौं। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले प्रदान गर्ने एनएनपीए स्पोर्ट्स अवार्डलाई अमेरिकाको एभरेष्ट वर्ल्ड क्लासले सहयोग गर्ने भएको छ।

आज संघ र एभरेष्ट वर्ल्डबीच पाँच वर्षका लागि सम्झाैता भएको हो। संघका तर्फबाट अध्यक्ष दीपक श्रेष्ठ र एभरेष्ट वर्ल्ड नेपाल च्याप्टरका उपाध्यक्ष बलराम कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौताअनुसार संघका पूर्व महासचिव एवं एभरेष्ट वर्ल्ड क्लास तेक्‍वान्दो अमेरिकाका संस्थापक कुमार कार्कीले व्यक्तिगतरूपमा संस्थामार्फत् खेलाडी संघलाई वार्षिक एक लाख रूपैयाँ प्रदान गर्नेछन्।

संघले ६ फागुनमा वसन्तपुरमा एनएनपीए स्पोर्टस् अवार्ड आयोजना गर्दैछ। अवार्डमा प्रतिभावान दुई खेलाडीलाई प्रदान गरिने नगद पुरस्कारका एभरेष्ट वर्ल्डले सहयोग गरेको हो।

पहिलोपटक समावेश गरिएको प्रतिभावान खेलाडी सम्मान विधामा उत्कृष्ट महिला र पुरुष खेलाडीले जनही ५० हजार रूपैयाँ पुरस्कार पाउनेछन्।

एभरेष्ट वर्ल्ड नेपाल च्याप्टरका उपाध्यक्ष कार्कीले राष्ट्रका लागि पसिना बगाउने खेलाडीहरूको सम्मानका लागि सहयोग गर्न पाउनु गौरवको विषय भएको बताए।

संघका अध्यक्ष श्रेष्ठले विदेशमा रहेर पनि खेलाडीको हकहितमा सहयोग गरेको भन्दै कार्कीप्रति कृतज्ञता व्यक्त गरे।

२०७५ मा इन्डोनेसियामा सम्पन्न १८औं एशियाली खेलकुदलाई आधार मानेर उत्कृष्ट प्रदर्शन गर्ने प्रतिभावान एक महिला र एक पुरुष खेलाडी छनौट गरिने संघका अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्