गर्भपतन गराएको उजुरीपछि गाउँपालिकाका अध्यक्षसहित चारजना फरार

पाँचथर। पाँचथरमा अन्तर्जातीय प्रेमविवाह गरेकी १९ वर्षीया युवतीको जबर्जस्ती गर्भपतन गरिएको छ।

कुम्मायक गाउँपालिका–५ स्याबरुम्बाका रमेश खड्काकी श्रीमती सीता नेपालीको गर्भपतन गरिएको हो ।

यो जघन्य अपराधमा श्रीमान् रमेशसहित परिवारका सदस्य मात्रै होइन, जनप्रतिनिधि नै मुछिएका छन्।

गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङको दबाबमा जबर्जस्ती गर्भपतन गराएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी छिन् ।

पीडितले २२ माघमा जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको भोलिपल्टैदेखि अध्यक्ष चेम्जोङ भने फरार छन्।

त्यतिवेला काठमाडौंमा रहेकी उपाध्यक्ष सीता आचार्यलाई कार्यभार सुम्पिएको निर्णय गराएर चेम्जोङ हिँडेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ।

"म काठमाडौं गएकी थिएँ । फर्केर आउँदा त २३ माघदेखिकै जिम्मेवारी मलाई दिइएको रहेछ," उपाध्यक्ष आचार्यले भनिन्, "अध्यक्षले घरायसी कामका लागि बाहिर रहेको व्यहोरा उल्लेख गर्नुभएको छ।"

पीडित युवतीका श्रीमान् रमेश र अन्य दुईजना पनि फरार छन् । आरोपी तीनजनालाई भने नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्