बालुवाटार जग्गा प्रकरण : बिचौलियाबाट ठगिएको भन्दै गृह मन्त्रालयले दियो किटानी जाहेरी
काठमाडौं। बालुवाटार जग्गा हिनामिना अनुसन्धानका लागि गृह मन्त्रालयले प्रहरीमा जाहेरी पठाएको छ।

सरकारका तर्फबाट गृहले ठगीसम्बन्धी मुद्दामा किटानी जाहेरी दिएको हो।

आजको नयाँ पत्रिका दैनिकका अनुसार ठगी मुद्दामा सरकारले जाहेरी दिएको यो पहिलो घटना हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले जग्गा हिनामिनामा संलग्नलाई ठगी र किर्तेसम्बन्धी मुद्दा चलाउनुपर्ने भन्दै दुई साताअघि गृहमा प्रतिवेदन बुझाएको थियो।

ठगी मुद्दा चलाउन जाहेरी अनिवार्य चाहिन्छ। हाल खारेज भइसकेको नेपाल समरजंग कम्पनीसमेत गृहमातहतकै निकाय भएकाले मन्त्रालयको तर्फबाट जाहेरी परेको हो।

गृह मन्त्रालयका एक उच्च अधिकारीले जाहेरी पठाइसकेको बताए। तर, उनले को–कोविरुद्ध किटानी जाहेरी छ भन्ने खुलाउन चाहेनन्।

यो प्रकरणमा बिचौलियाबाट सरकार नै ठगिएको भन्दै मुद्दा दायर हुन लागेको हो ।

समरजंग कम्पनीको नाममा रहेको बालुवाटारको करीब १३६ रोपनी जग्गा चारपटक गरेर विभिन्न व्यक्तिको नाममा लगिएको थियो।

त्यसमा संलग्न ११० जना र जग्गा किन्ने ६५ जनाविरुद्ध २२ माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्