‘बागी-३’ सँग डरायो ‘म यस्तो गीत गाउँछु-२’

काठमाडौं। २३ फागुनमा प्रदर्शनको मिति तय गरिएको चलचित्र ‘म यस्तो गीत गाउँछु-२’ को प्रदर्शन मिति सरेको छ। बलिउड चलचित्र बागी–३ पनि त्यति मितिमा प्रदर्शनमा आउने भएपछि ‘म यस्तो गीत गाउँछु–२’को प्रदर्शन मिति एक साता पछि धकेलिएको हो।

अब ३० फागुनमा प्रदर्शनमा आउने निर्देशक सुदर्शन थापाले जानकारी दिए। बागी–३ सँग भिड्ने भएपछि केही दिनअघि उनले कुनै पनि हालतमा प्रदर्शन मिति नसार्ने दाबी गरेका थिए।

उनले भनेका थिए, “म कुनै पनि हालतमा फागुन २३ बाट सर्दिनँ। कहिलेसम्म विदेशी फिल्मको डरले बाँच्ने ? विदेशी फिल्मको डरमा नै बाँच्ने भए किन नेपाली फिल्म बनाउनु ? ढुक्क हुनुस् मेरो चलचित्रको प्रदर्शन मिति सर्दैन। दर्शकले नेपाली फिल्मलाई नै साथ दिनेछन्।”

तर, उनले आफ्नो चलचित्रको प्रदर्शन मिति सारेका हुन्। २३ फागुनमै चलचित्र ल्याउन खोजेको भए पनि वितरकका कारण एक हप्ता पछाडि उनको भनाइ छ। यसअगाडि पनि नेपाली चलचित्रले बलिउड चलचित्र प्रदर्शन आउँदा आफ्नो चलचित्रको प्रदर्शन मिति सार्दै आएका थिए।

चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ ले आफ्नो ट्रेलर समेत सार्वजनिक गरेको छ। आज एक कार्यक्रमको आयोजना गरेर ट्रेलर सार्वजनिक गरिएको हो।

अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको प्रेममा आउने उतार–चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरबाट देखिन्छ।

अभिनेता शाह फिल्ममा एक चर्चित गायकको भूमिकामा छन् भने अभिनेत्री शर्मा (छाँया) गायनको फ्यान छिन्।

‘म यस्तो गीत गाउँछु–२’ मा पल र पूजाका साथै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकायलगायतका कलाकारहरूको अभिनय छ। शिवम् अधिकारी र दिनेश न्यौपानेले फिल्मको कथा लेखेका हुन्।

दुई वर्ष अगाडिको सुपरहिट फिल्म ‘म यस्तो गीत गाउँछु’को सिक्वेल भएका कारण यो फिल्मले पनि राम्रो व्यापार गर्ने अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्