आईजीपी ज्ञवालीको निर्देशन- सुरक्षा चुनौती समाधान गर्न आक्रामक रूपमा प्रस्तुत हुनुस्
काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सातवटै प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरूलाई सुरक्षा चुनौतीहरूको समाधान गर्न उच्च सर्तकताका साथ प्रहरी परिचालन गरेर आक्रामक रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।

प्रहरी प्रधान कार्यालयबाट भिडिओ कन्फेरेन्सद्वारा उनले यस्तो निर्देशन दिएका हुन्। शान्ति सुरक्षा तथा समसामयिक विषयमा सम्बोधन गर्दै उनले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम रहेको प्रष्ट पारे।

आवश्यकता अनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँगसमेत समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्न उनले निर्देशन दिएका हुन्।

प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकता अनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रियासम्मत रूपमा कानूनी कारबाही अगाडि बढाउनुपर्ने बताए।

सबै प्रदेशका प्रहरी प्रमुखहरूले आ–आफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिकासाथ समस्या समाधानमा लाग्न उनले निर्देशन दिए।

प्रहरी कारबाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले हिंसाजन्य क्रियाकलापमा प्रहरीको संलग्नता अक्षम्य हुने बताए।

राजमार्ग अवरोध, अवाञ्छित गतिविधि लगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ खटिन पनि उनको निर्देशन छ।

अन्तरक्रियाको क्रममा प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुले आ–आफ्नो प्रदेशको शान्ति सुरक्षा एवं प्रहरीका काम कारबाहीका बारेमा जानकारी दिएका थिए।

प्रदेश प्रहरी प्रमुख रहेका ४ प्रदेशका डीआईजीहरूले २९ माघबाटै अनिवार्य अवकाश पाइसकेकाले त्यहाँ निमित्त प्रमुख रहेका छन्। ७ नम्बर प्रदेश र २ नम्बर प्रदेशमा भने यसअघि नै कार्यरत रहेका डीआईजीहरू छन्।

आईजीपी ज्ञवाली १ नम्बर प्रदेशका प्रमुख थिए। उनी २८ माघमा आईजी भएपछि त्यहाँ पनि अहिले डीआईजी छैनन्।

प्रतिक्रिया दिनुहोस्