हुम्लामा कर्णाली नदी तर्न अझै तुइनको भर

काठमाडौं। सरकारले तुइन विस्थापित गर्दै झोलुंगे पुलको योजना अघि सारेको दुई वर्ष भइसक्यो। हुम्लाको खार्पुनाथ गाउँपालिकाका लागि भने अझै विकल्प छैन।

कर्णाली नदी तर्न बोक्चेगौंडाका गाउँलेले तुइनकै भर पर्नुपर्छ। त्यो पनि निःशुल्क होइन, प्रतिव्यक्ति १०० रूपैयाँ तिरेर।

सय रूपैयाँ तिरे तुइनबाट वारिपारि गर्नेहरूले सामान तारेबापत थप ५० रूपैयाँ तिर्नुपर्छ।

“पुरानो र धराप छ, तुइनबाट वारिपारि गर्दा भगवानको नाम जप्छौं,”स्थानीय काली विकाले भनिन्, “पैसा नहुनेले वारिपारि गर्न पाउँदैनन्।”

कर्णाली नदीमा बाह्रै महीना बहाव उच्च हुने भएकाले पानी छिचोलेर तर्न सकिँदैन।

खार्पुनाथका अधिकांश वडाका वासिन्दाले गााउँपालिकाको केन्द्र याङ्चु पुग्न तुइनबाट कर्णाली तर्नैपर्छ।

आजको कान्तिपुर दैनिकका अनुसार उक्त तुइनकै बाटो भएर थाली, राया, छिप्रा र कारामलगायत गाउँका वासिन्दा याङ्चु र छिमेकी जिल्लाहरू जुम्ला, बाजुरा पुग्छन्।

स्थानीय व्यापारीले सदरमुकाम सिमकोट टाढा हुँदा दैनिक उपभोग्य सामग्री तथा खाद्यान्न जुम्ला र बाजुराबाटै ल्याउने गरेका छन्।

अप्ठेरो बाटोमा जोखिम मोलेर यात्रा गर्न नसकिने भएपछि तुइन गर्नुको विकल्प नभएको स्थानीय बरी महतराले गुनासो गरिन्।

कर्णाली करिडोरअन्तर्गतको खापु-सुनखाडा खण्डको बोक्चेगौडामा सडक निर्माणका क्रममा आवागमन अवरुद्ध भएपछि स्थानीयले रकम संकलन गरेर तुइन निर्माण गरेको गाउापालिका अध्यक्ष कर्ण रावलले बताए।

प्रतिक्रिया दिनुहोस्