कपिलवस्तुमा बालिकालाई बन्धक बनाएर बलात्कार, पक्राउ पुर्जी जारी भएपछि आरोपी फरार

काठमाडौं। कपिलवस्तुमा सुर्तीजन्य सामग्रीको व्यवसाय गर्दै आएका अर्जुन श्रेष्ठविरुद्ध नाबालिकालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ।

आफूलाई पत्रकारसमेत बताउने श्रेष्ठमाथि बालिकालाई बलात्कार गरेको आरोप लागेको हो। बुटवलनिवासी श्रेष्ठ व्यापारका सिलसिलामा दुई वर्षयता तौलिहवामा बस्दै आएका छन्।

कपिलवस्तुको तौलिहवामा सुर्तीजन्य सामग्रीको व्यवसाय गर्दै आएका श्रेष्ठले आफूले काम गर्न राखेकी १५ वर्षीया बालिकालाई दुई-चार महीनादेखि लगातार बलात्कार गर्दै आएको खुलेको छ।

कपिलवस्तुका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपशमशेर राणाले श्रेष्ठलाई पक्राउ गर्न अदालतबाट अनुमति लिइएको र लगत्तै उनी फरार भएको देखापढीलाई बताए।

“पछिल्लो पटक बालिकाको हातखुट्टा खाटमा बाँधेर, मुखमा मोजा कोचेर बलात्कार गरेको पाइएको छ”, एसपी राणाले देखापढीसँग भने, “पक्राउ पुर्जी जारी भएसँगै आरोपी फरार भएको छ, हामीले खोजी जारी राखेका छौं।”

एसपी राणाले बालिकाको स्वास्थ्य परीक्षणपछि परिवारको जिम्मा लगाइएको बताए। पीडितका बुबाले जाहेरी दिएपछि प्रहरीले पक्राउ गर्न अदालतबाट अनुमति लिएकाे थियाे।

प्रतिक्रिया दिनुहोस्