एपीएफको सहज जित
काठमाडौं। आशिष लामा र प्रविणकुमार स्याङतानको समान दुई गोलमा सशत्र प्रहरी बलको एपीएफ क्लबले आज शहीद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेण्ड्स क्लबमाथि ५-३ को सहज जित निकालेको छ।

आशिष लामाले १३औं मिनेटमा गरेको गोलमा एपीएफले अग्रता लियो।

नविन लामाको फ्रिकिकमा आशिषले हेडमार्फत गोल गरेका थिए।

४०औं मिनेटमा आशिषले एपीएफको अग्रता दोब्बर बनाए। फ्रेण्ड्सका गोलकिपर सोजित गुरुङले गरेको गल्तिमा आशिषले गोल गरेका थिए।

यससँगै आशिष लिगमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन्। आशिषको गोल संख्या आठ पुगेको छ।

दोस्रो स्थानमा रहेका च्यासल युथका सन्तोष साहुखलको सात गोल छ। त्रिभुवन आर्मीका नवयुग श्रेष्ठको ६ गोल छ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको फ्रेण्ड्सका फिलिप डी सुजाले ६८औं मिनेटमा गोल गरे।

७०औं मिनेटमा विश्व अधिकारीले बराबरी गोल फर्काए। तर त्यसको एक मिनेट वित्न नपाउँदै प्रवीणकुमारको गोलमा एपीएफले पुनः अग्रता लियो।

इन्जुरी समयमा कप्तान टोपबहादुर विष्ट र प्रविणकुमारले एक एक गोल गरेपछि एपीएफ सहज जित निकाल्न सफल भयो।

लिगमा १२ खेल सकिँदा एपीएफको यो दोस्रो जित हो। एपीएफले दुई खेल बराबरी खेलेको छ भने आठ खेलमा पराजित भएको छ।

आठ अंक जोडेको एपीएफले रेलिगेशन सम्भावना टार्ने संकेत गरेको छ। रेलिगेशन क्षेत्रमा चार अंकका साथ सरस्वती युथ क्लब छ।

फ्रेण्ड्स क्लब भने १४ अंकका साथ नवौं स्थानमा छ। फ्रेण्ड्सको यो छैटौं हार हो।

एपीएफले अब ब्रिगेड ब्वाइज क्लबसँग खेल्न बाँकी छ। फ्रेण्ड्सले लिगको अन्तिम खेल नेपाल पुलिस क्लबसँग खेल्नेछ।

आजै एन्फा मुख्यालयको मैदानमा सरस्वती युथले च्यासल युथसँग प्रतिस्पर्धा गर्नेछ भने संकटाले मछिन्द्र क्लबविरुद्ध खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्