विदेशीलाई बालबालिका सुम्पेपछि ढुक्क सरकार

काठमाडौं। २०५७ सालदेखि हालसम्म ९१७ बालक र १७१६ बालिकालाई सरकारले धर्मसन्तानका रूपमा विदेशी नागरिकको जिम्मा लगाइसकेको छ।

त्यसमध्ये स्पेनका नागरिकले ७६४ नेपाली बालबालिका लगेका छन्। यस्तै, ५८९ लाई इटाली, ३३२ लाई फ्रान्स, ३०८ लाई अमेरिका र २१० लाई जर्मनी लगिएको छ।

नेपालबाट लगिएका ती बालबालिकाको अवस्था कस्तो छ भन्नेबारे सरकार बेखबर छ।

धर्मसन्तान हस्तान्तरणसम्बन्धी अन्तर्राष्ट्रिय व्यवस्थाअनुसार धर्मसन्तान १८ वर्ष नहुँदासम्म त्यसरी सन्तानको रूपमा ग्रहण गर्ने व्यक्तिले बच्चा जन्मिएको देशको सम्बन्धित निकायलाई हरेक छ महीनाको रिपोर्ट पेस गर्नुपर्छ।

त्यस्तो रिपोर्टमा बच्चाको स्वास्थ्य रिपोर्टसहित सम्पूर्ण अवस्था समेटिएको हुनुपर्छ ।

तर, विदेशी नागरिकहरूले नेपालबाट बच्चा लगेपछि सुरुको छ महीनामा रिपोर्ट पेस गर्ने र त्यसपछि रिपोर्ट बुझाउने नगरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका एक अधिकारीले बताए । यो विषयमा अनुगमन भएको छैन ।

धर्मपुत्र/पुत्री विकास समिति सञ्चालन हुँदा पनि त्यसले बालबालिकालाई विदेश पठाउने कामको मध्यस्थता मात्रै गर्दै आएको थियो।

सो समितिले विदेश गएका बालबालिकाको विषयमा चासो नराखेको भनेर महालेखा परीक्षकको प्रतिवेदनले हरेक वर्ष टिप्पणी गर्दै आएको थियो।

तर, सो समिति पनि अहिले खारेज भइसकेको छ।

बालबालिकाले आफ्नो निर्णय आफैं गर्न नसक्ने हुनाले उनीहरूलाई धर्मपुत्र/पुत्री बनाएर विदेश पठाउने प्रक्रियालाई संसद्को महिला तथा सामाजिक विकास समितिले गलत भनेको छ।

२२ माघमा समितिले त्यस विषयमा छलफल गर्दै विदेशीहरूले नेपाली बालबालिकालाई धर्मसन्तान बनाएर लैजाने कार्य रोक्न मन्त्रालयलाई निर्देशनसमेत दिएको थियो।

गैरकानूनी रूपमा एवं अदृश्य मिलेमतोमा पनि नेपाली बालबालिका विदेशी नागरिकलाई बेच्ने गरिएको निष्कर्ष समितिले निकालेको आजको नयाँ पत्रिकामा समाचार छ।

संसदीय समितिले संघ, संस्था दर्ता ऐन, २०३४, समाजकल्याण ऐन, २०४९, राष्ट्रिय निर्देशन ऐन, २०१८ लाई सुधार/संशोधन गर्न प्रक्रियामा लैजान पनि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ।

प्रतिक्रिया दिनुहोस्