निर्मला पन्त प्रकरणमा एआईजीको प्रतिवेदन खारेज, दिलीप नै दोषी

काठमाडौं। प्रहरी प्रधान कार्यालयले कंचनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा एआईजी धिरु बस्न्यात नेतृत्वको समितिले बुझाएको प्रतिवेदन खारेज गरेको छ।

डीआईजी सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिको पछिल्लो प्रतिवेदन स्वीकार गर्दै अघिल्लो प्रतिवेदन खारेज गरिएको हो।

पछिल्लो प्रतिवेदनअनुसार बलात्कार र हत्या आरोपमा पक्राउ परेर छुटेका दिलीपसिंह विष्ट नै मुख्य अभियुक्त रहेकाले उनीमाथि थप अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले अपराध अनुसन्धान विभागमार्फत कंचनपुर प्रहरीलाई २६ माघमा निर्देशन दिएको छ।

भीमदत्त नगरपालिका–२ स्थित खोल्टीकी पन्तको शव ११ साउन २०७५ मा त्यही नगरपालिकाको वडा नम्बर १८ स्थित निम्बुखेडा खोला किनारको उखुबारीमा फेला परेको थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र कंचनपुर प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा ३ भदौमा विष्ट पक्राउ परेका थिए।

तर विष्ट निर्दोष रहेको दाबीसहित विभिन्न संघसंस्था र स्थानीयवासीले फसाउन खोजिएको आरोप लगाएका थिए। प्रहरी अनुसन्धानले भने विष्ट नै दोषी भएको निष्कर्ष निकालेको थियो।

गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वको समिति र एआईजी बस्न्यातको आन्तरिक समितिका प्रतिवेदनले विष्टलाई निर्दोष भनेका थिए।

दुवै प्रतिवेदन र कंचनपुर प्रहरीको अनुसन्धान बाझिएपछि घटनाका अभियुक्त कानूनी दायरामा आउन सकेका छैनन्।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले एआईजी बस्न्यातको संयोजकत्वमा ३१ भदौ २०७५ मा आन्तरिक अनुसन्धान समिति गठन गरेका थिए।

बस्न्यात र मैनाली नेतृत्व समितिको प्रतिवेदनको आधारमा गृह मन्त्रालयले बलात्कार र हत्या आरोपितलाई उन्मुक्ति दिन सघाएको भन्दै केही प्रहरी अधिकारीलाई बर्खास्त तथा निलम्बनसमेत गरिएको थियो।

त्यही समितिले आरोपित विष्टलाई उन्मुक्ति दिएको आजको कान्तिपुर दैनिकमा समाचार छ।

तर, पछिल्लो समितिले बस्न्यात समितिले प्रहरी र सरकारविरोधी धारणाबाट प्रभावित भएर सत्यतथ्य पत्ता लगाउन नसकेको निष्कर्ष निकालेको छ।

प्रतिक्रिया दिनुहोस्