अफगानिस्तानमा दुई अमेरिकी सैनिकको मृत्यु

अफगानिस्तान। हतियारधारी एक अफगानी सैनिकले चलाएको गोली लागेर अफगानिस्तानमा तैनाथ दुईजना अमेरिकी सैनिकको मृत्यु हुनुका साथै अरु ६ जना घाइते भएका छन्।

अमेरिकी सेनाका अनुसार अफगानिस्तानको पूर्वी नान्गारहार प्रान्तमा उक्त दुःखद घटना भएको हो। शरजाद जिल्लाको सैनिक अखडामा अमेरिकी र अफगान कमान्डोहरूले तालिम गरिरहेका बखत अफगान सैनिक कमान्डोले गोली चलाएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १८ वर्ष लामो अफगान युद्ध समाप्त गरी अमेरिकी सैनिक स्वदेश फर्काउने योजना बनाइरहेको नाजुक समयमा उक्त घटना भएको हो।

अफगानिस्तानमा तैनाथ अमेरिकी फौजका प्रवक्ता सोन्नी लेगिटले आज जारी गरेकाे वक्तव्यमा अफगानी सैनिकले चलाएको गोलीबाट अमेरिकी सैनिकको मृत्यु भएको र केही घाइते भएको उल्लेख छ।

प्रान्तीय गभर्नर शाह महमूद मियाखिलले अफगान सैनिकको आक्रमणबाट तीनजना अफगान सैनिक पनि घाइते भएको बताउँदै घटनाको अनुसन्धान शुरू गरिएको जानकारी दिए। (रासस-एएफपी)

प्रतिक्रिया दिनुहोस्